चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो महिनामै नेपालले डेढ खर्ब बढी रकमको सामान आयात गरेको छ।
साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।
गत आवको पहिलो महिनामा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँ बराबरको आयात गरिएको थियो। सो अवधिको तुलनामा चालु आवमा ७५.६६ प्रतिशतले आयात बढेको हो।
निर्यात भने दोब्बरले बढेको तथ्यांकले देखाएको छ। गत आवको पहिलो महिनामा ९ अर्ब ६२ करोड रुपैयाँ बराबरका सामग्री निर्यात गरिएको थियो। चालु आवको सोही अवधिमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको सामग्री नेपालले निर्यात गरेको छ।
विभागको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढेको हो।
त्यस्तै नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो। गत वर्षको तुलनामा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो।