रात्रीकालिन मनोरञ्जन व्यवसायीले कोरोनाका कारण लामो समयदेखि व्यवसाय बन्द भएकोमा सरकारले कुनै चासो नदेखाएको भन्दै चाबी प्रशासनमा बुझाएका छन्।
व्यवसाय संचालन गर्न र यस क्षेत्रमा आवद्ध कलाकार तथा श्रमजिवी मजदुरको रोजगारीको सुनिश्चितताको लागि धेरै पटक ध्यानाकर्षण गरिसके पनि सम्बन्धित निकायले कुनै सुनुवाई नगरेपछि बाध्य भएर ताला चाबी बुझाएको दोहोरी साँझ र रात्रीकालिन व्यवसाय सञ्चालन तथा वस्वस्थापन समितिले जनाएको छ।
विभिन्न चरणमा नेपाल सरकार गृह मन्त्रालय, पर्यटन बोर्ड, सि.सि.एम.सि. लगायत यही जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यसअघि नै ज्ञापन पत्रसमेत बुझाएको उनीहरूले स्मरण गरेका छन्।
अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रीकालिन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकाले कुनै चासो देखाएको पाइएन त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चावी सहित यहाँ उपस्थित भएका छौं’, चाबी बुझाएपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः हाम्रो सम्पूर्ण व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मा लगायत सम्पूर्ण कलाकार, मजदुहरुको रोजगारीको ग्यारेन्टी सहित व्यवसायको चावी बुझिलिन हार्दिक अनुरोध गर्दछौं।’