डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम आजबाट विधिवत रुपमा सञ्चालनमा आएको छ ।
८ महिना अघिदेखि ग्राहकको अर्डर अनुसार सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले कोरोना महामारीका कारण आज औपचारिक रुपमा सार्वजनिक गरेको हो।
डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको बताए ।
साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको सापकोटाले जानकारी दिए ।
डोरमिट डटकममा सबै ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि बिलासिताका वस्तुसम्म गरी १५ हजारभन्दा बढी सामान अर्डर गर्न सकिन्छ ।