गत आर्थिक वर्ष नेपालमा ५० अर्ब ४ करोड रुपैयाँको चामल मात्रै भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भित्रिएको चामल अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो। वर्षेनी चामलका लागि बाहिरिने रकम बढ्दै गएको छ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ३५ करोडको चामल भित्रिएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब २१ करोड रुपैयाँको चामल आएको थियो।
रकमका आधारमा कृषिप्रधान देश नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुहरुमध्ये चामल छैटौं स्थानमा पर्छ।
पेट्रोलियम पदार्थ आयातका लागि नेपालले सबैभन्दा धेरै रकम खर्चिने गरेको छ। गत आर्थिक वर्ष १ खर्ब ७५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। कुल आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थको मात्रै हिस्सा ११.४ प्रतिशत छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.२ प्रतिशत बढी रकमको पेट्रोलियम पदार्थ आयात भएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि आयात बढी देखिने गर्दछ।
धेरै आयात हुने बस्तुको सूचीमा दोस्रो स्थानमा सवारीसाधन, तिनका पार्टपूर्जा तथा टायर पर्दछ। यो शिर्षकमा गत आर्थिक वर्ष १ खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सवारीसाधन तथा पार्टपूर्जाको आयात ४७ प्रतिशतले बढेको तथ्यांक देखिन्छ। कुल आयात हुने बस्तुमा यो शिर्षकमा खर्च हुने रकम ८ प्रतिशत हो।
अन्य मेसिनरी तथा पार्टपूर्जा आयातका हिसावले तेस्रो स्थानमा परेको छ। गत आर्थिक वर्षमा कुल ८० अर्ब ७१ करोड रुपैयाँको मेसिनरी तथा पार्टपूर्जा आयात भएको छ। अघिल्लो वर्षको तुलनामा यसको आयात २० प्रतिशतले बढी हो।
त्यस्तै डण्डी उत्पादनका लागि उद्योगहरुले प्रयोग गर्ने एमएस बिलेट उच्च आयातका आधारमा चौथो स्थानमा पर्छ। गत आर्थिक वर्ष ७१ अर्ब ५२ करोड रुपैयाँको एमएस बिलेट आयात भएको छ। यो आयात अघिल्लो वर्षको तुलनामा ६९ प्रतिशत बढी हो।
उच्च आयात हुने पाँचौ बस्तु हो कच्चा सोयाबिन तेल। गत आर्थिक वर्ष यसको आयातमा ५३ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ। यसको आयात अघिल्लो वर्षको तुलनामा १८४ प्रतिशतले बढेको हो।
छैंटौं स्थानको चामलपछि धेरै आयात हुने सातौं नम्वरमा औषधि परेको छ। गत आर्थिक वर्ष ३९ अर्ब ५७ करोड रुपैयाँको औषधि भित्रिएको छ। जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो।
उच्च आयातका आधारमा आठौं स्थानमा टेलिकम्युनिकेसन इक्वीपमेन्ट, पार्टस् पर्दछ। गत आर्थिक वर्ष ३४ अर्ब ५२ करोड रुपैयाँको आयात भएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो।
नवौं स्थानमा रहेको रेडिमेड गार्मेन्ट्स गत आर्थिक वर्षमा २८ अर्ब १० करोडको आयात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो।
उच्च आयात हुने बस्तुमा सुन दशौं स्थानमा छ। गत आर्थिक वर्ष २७ अर्ब ४८ करोड रुपैयाँको सुन आयात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो।