गत आर्थिक वर्ष २०७७/७८मा कुल १ खर्ब ४१ अर्ब रुपैयाँको सामान नेपालले भारत लगायत अरु मुलुकमा बिक्री गरेको छ।
यस्तो निर्यात अघिल्लो वर्षको तुलनामा ४४.४ प्रतिशतले बढेको छ। निर्यातमा यसरी सुधार देखिनुको मुख्य कारण हो– सोयाबिन तेलको प्रशोधन।
बाहिरबाट कच्चा सोयाबिन तेल ल्याएर नेपालमा प्रशोधन गरी निर्यात गर्दा समग्र निर्यातमा राम्रो सुधार देखिएको हो। गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुमा सोयाबिन तेल नै परेको छ।
कच्चा तेल ल्याएर प्रशोधित तेल पठाउँदा नेपालले फाइदा लिएको रकम जम्मा २९ करोड रुपैयाँ मात्रै हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। गत आर्थिक वर्ष रकमका आधारमा निर्यात भएको बस्तुमध्ये सोयाबिन तेलको हिस्सा मात्रै ३८ प्रतिशत छ।
अर्कोतर्फ नेपालमा सबैभन्दा धेरै आयात हुने १० बस्तुमध्ये कच्चा सोयाबिन तेल पाँचौ नम्वरमा पर्छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५३ करोड ३६ अर्ब रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ।
सो तेल प्रशोधनपछि निर्यात गर्दा नेपालले जम्मा २९ करोड रुपैयाँ मात्रै लाभ लिएको तथ्यांकले देखाउँछ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष सोयाबिन तेलको निर्यात ३२२ प्रतिशतले बढेको हो।
निर्यातका आधारमा दोस्रो स्थानमा पोलिस्टर धागो परेको छ। गत आर्थिक वर्ष ७ अर्ब ३४ करोड रुपैयाँको पोलिस्टर धागो निर्यात भएको छ। यसको निर्यात भने अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो।
त्यस्तै तेस्रो स्थानको ७ अर्ब २४ करोड रुपैयाँको उलन कार्पेट निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले यसको निर्यात बढेको हो।
त्यस्तै निर्यातका आधारमा चौथो स्थानमा अलैंची छ। गत आवमा कुल ६ अर्ब ९३ करोड रुपैयाँको अलैंची निर्यात भएको छ। अलैंचीको निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा ७३ प्रतिशतले बढी हो।
पाँचौं स्थानमा रहेको जुटको सामान निर्यात ६ अर्ब ७० करोडको छ। यसको निर्यात एक वर्षको अवधिमा २७ प्रतिशतले बढेको हो। निर्यातका आधारमा जुस छैटौं स्थानमा छ। गत आवमा कुल ४ अर्ब २१ करोड रुपैयाँको जुस निर्यात भएको छ। एक वर्षको समीक्षा अवधिमा यसको निर्यात २३ प्रतिशतले बढेको हो।
सातौं स्थानमा रहेको रेडिमेड गार्मेन्टको ३ अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ। एक वर्षको समीक्षा अवधिमा २३.३ प्रतिशतले निर्यात बढेको हो।