औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टीलमा भदौ ११ गते बिहान तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले प्रेस विज्ञप्ती जारी गरी उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गरेको छ।
स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा ठूलो सहयोग पुर्याईरहेको छ।
'उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनु अत्यन्त दुःखद कुरा हो,' महासंघको विज्ञप्तीमा लेखिएको छ।
भदौ ११ गते बिहान १० बजे उद्योगको अमोनिया ग्यास ट्यांकबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू प्रवेश गरी उद्योगमा तोडफोड गरिएको थियो।
यस घटनाबाट एकातिर उद्योग र स्थानीय जनताबीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जाने भन्दै महासंघले गम्भीर चिन्ता जनाएको छ।
यस्ता कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनको दायरामा ल्याई कारवाही गर्न र उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग गर्न महासंघले तीनै तहका सरकार समक्ष गम्भीर आग्रह गरेको छ।