नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन्।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य रहेको उल्लेख गरे।
नेपाली उत्पादनलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको उनले बताए।
यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने उल्लेख गरे।
‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने।
राजदूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यको रूपमा रहेकोसमेत उल्लेख गरे।
नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियतका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको उनको भनाई थियो।
भेटवार्ताका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेकाले त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने बताए।
बंगलादेशलाई ऊर्जाको आवश्यकता औँल्याउँदै उनले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालबाट विद्युत निर्यात महत्वपूर्ण विकल्प हुन सक्ने उल्लेख गरे।
अध्यक्ष अग्रवालले दुई देशबीच व्यापार र लगानी अभिवृद्धि गर्न लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता आवश्यक रहेको औँल्याए।