बुद्ध एयरको नयाँ गन्तव्य पोखरा–सिमरा उडान सुरु भएको छ। कम्पनीले आजदेखि पोखरा– सिमरा सिधा उडान भर्न सुरु गरेको हो।
उक्त रुटमा साताको तीन दिन उडान हुने बुद्धएयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। उनका अनुसार बुद्धले आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ।
पोखराबाट सिमरा १२ः२० र सिमराबाट पोखराको उडान १३ः१५ बजे तोकिएको छ।
यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन्। यसबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरले जनाएको छ।
सिमरा, वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन्। सिमरा र वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास छ।
सिमरा र वीरगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिम श्रृंखलाको आनन्द लिन सक्छन्।
यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय सहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले बताएको छ।
बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ।
सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९ सय ९९ रुपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट सुविधा छ।