कोभिड-१९ महामारीका कारण १७ प्रतिशत होटल पूर्णरुपमा बन्द रहेको व्यवसायीहरुले बताएका छन्।
नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धीत संस्थाका प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरुले सो जानकारी दिएका हुन्।
परिसंघले पर्यटन क्षेत्रका प्रतिनिधिहरुसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको हो।
छलफलका क्रममा व्यवसायीहरूले पर्यटन उद्योगमा कार्यरत १० लाखबढी श्रमिकहरुको रोजगारी जोखिममा परेको उनीहरुले बताए।
सहभागीहरूले कोभिड १९ को जोखिम बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गर्दा पर्यटक आगमन ठप्प रहेको उल्लेख गरे।
यसैगरी पिसिआर रिपोर्ट नेगेटिभ भएका, खोपको पूरा मात्रा लगाएका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे।
देशव्यापीरूपमा कोभिड १९ विरुद्धको खोप व्यवस्था गरी नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्य बनाउन सरकारले जोड दिनुपर्ने उनीहरुको भनाई छ।
व्यवसायीहरूले पुनरुत्थानका लागि बिना धितो ऋण र कर पुनर्कर्जाको सुविधा उपलब्ध गराउन माग गरे।
सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसार सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ।