काठमाडौंको टोखा नगरपालिका-७ बसुन्धारामा अन्नपूर्णा स्टोर्स प्रालि(मार्ट) खुलेको छ।
मार्टबाट शनिबारदेखि सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्री सेवा सुभारम्भ गरिएको छ।
निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुचारू गरिएको कम्पनीले जनाएको छ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार मार्टको उद्घाटन गरे। मार्ट उद्घाटन गर्दै मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरि सेवा दिनेगरी साझा पसल सञ्चालनमा ल्याउने बताए।
अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीले बताए।
मार्टबाट होलसेल(सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामाग्री र ग्रोसरी सामाग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए।
कम्पनीले भैरहवामा दुई मार्टहरू सञ्चालनमा ल्याएको जनाएको छ। काठमाडौंका विभिन्न पाँच स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए।
सञ्चालकहरुले यस्ता मार्टहरूमा कृषिसँग सम्बन्धी डेरी प्रोडक्ट लगायत राख्नका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन्।
मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर तीन हजार रूपैयाँसम्मको खरीदमा एक किलो चिनी सित्तैमा र पाँच हजार रूपैयाँसम्मको खरीदमा दुई केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ।