डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम -सीपको साझेदारीमा काठमाडौं उपत्यकामा दुई पाङ्ग्रे सवारीमार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ।
दुई पाङ्ग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने कम्पनीले जानकारी दिएको छ।
कार्गोका अध्यक्ष सुमन रायमाझीले समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यहरूमा लैङ्गिक समानताका साथ अघि बढ्ने बताए।
उपायले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरी उत्पन्न गरेको रोजगारी केही महिना अघिसम्म अस्तित्वमा नरहेको र अहिले टेक्नोलोजी प्लेटफर्मको साथ, नेपालमा नयाँ रोजगारी सृजनाको ठूलो सम्भावना उजागर गरेको सीपका परियोजना प्रमुख बल्जित वोहराले बताए।
सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई समेट्ने कम्पनीले बताएको छ।
चालकहरुलाई डिजिटल साक्षरता, इ-बैंकिङ साक्षरत कार्यक्रम गरिने कम्पनीको योजना छ। विद्युतीय सवारीको प्रयोग बढाएर पर्यावरणमैत्री कम्पनीको रूपमा विकास गर्ने कम्पनीले बताएको छ।