कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्द्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ।
भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुले आफ्ना समस्या चेम्बर समक्ष राखे।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए।
विचौलियाका कारण उद्यमीहरुलाई मूल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर खेती गर्दा बजारिकरण गर्न सहज हुने उनले बताए।
‘सानो स्केलमा सहकारी मार्फत र केन्द्रीय स्तरमा कम्पनीमार्फत गर्न सकिन्छ,’ उनले भने।
भन्सार छुटमा ढुवानीका साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने उनको भनाइ छ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिरहेको बताइन्।
१० वर्षदेखी जडीबुटिको बिषयमा अध्ययन गर्दै आएका कृषि विज्ञ दिपक शर्माले स्वदेशमा खपत गर्ने मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरीय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा सफल चार महिला उद्यमीहरुले आफ्नो सफलताको कथाबारे अनुभव राखेका थिए। सो अवसरमा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफूले कर्णाली लगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको जानकारी दिइन्।
चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफूहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतीय बजारमा खपत हुँदै आएको बताइन्।
कार्यक्रममा बिशेष गरि बेसार, मौरी पालन तथा मह उत्पादन, कफि र चियाको ब्यावसायिक खेति गरेर नेपालको उत्पादनमुखि अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यक्रममा सहभागी थिए।