दस वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै चितवनका जनप्रकाश चापागाईंले चेन होटल सञ्चालनमा ल्याएका छन्। दियालो र अनुपम फुडल्याण्डको नाममा उनको समूहको होटल विस्तार भइरहेको छ।
पन्ध्र वर्षअघि काठमाडौंको बसुन्धरामा उनको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरू भएको हो।
सोही नाममा बुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ।
त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौंको बत्तीसपुतलीमा सञ्चालनमा छ। अनुपमलाई पोखरा, हेटौंडा र नुवाकोटमा शाखा विस्तार गर्ने उनको तयारी छ।
चापागाईंले भने, 'आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौं।'
भरतपुर महानगरपालिका-५ स्थायी घर भएका उनले यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उनी बेलायत पुगे।
नौ वर्ष आठ महिनाको लण्डन बसाइमा उनको जिम्मेवारी राम्रो होटलको सेफको थियो। त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईंले बताए।
उनले भने, 'मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो।'
नेपाल फर्किएसँगै काठमाडौंमा एक जना साझेदारसँग मिलेर उनले दियालो फुडल्याण्ड सुरू गरे। ती साझेदार हुन्- माधव पाण्डे।
यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय विस्तार हुन थाल्यो। सुरूमा दुई जनाले दुई करोड २० लाख रूपैयाँ लगानीबाट थालिएको यो व्यापार आजसम्म आइपुग्दा रु ५० करोडभन्दा माथिको भएको छ। साझेदार २७ जना पुगेका छन्। मुख्य समूहमा चापागाईंसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ। सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो।
आम्दानीको २० प्रतिशत व्यवसाय विस्तारका लागि खर्च गरिँदै आएको उनले बताए।
राजधानीमा ठूला कार्यक्रमका लागि चापागाईं परिचित नाम हो।
राजनीतिक दलका सभासम्मेलन गर्नुपर्दा आउने नाममध्येमा उनलाई पहिलो लहरमा लिने गरिन्छ। आफ्नो गृह जिल्ला चितवनमा उनले सबभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ।
उनले भने, 'हाम्रो हलमा दुई हजार २०० कुर्सी अट्छ। राजधानी बाहिर यति ठूलो हल कसैको छैन।'
कला कौशलले सजिएको बेलायती शैलीको आकर्षक हलसँगै २० कोठा दियालोमा छ।
दियालो समूहका अध्यक्ष चापागाईं काठमाडौंका जस्ता सेफ स्थानीयस्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानीका सेफ राखेर बाहिरी शाखा सञ्चालनमा आएको बताए।
चितवनमा राष्ट्रियस्तरका कार्यक्रम गर्न सहयोग पुगोस् भन्नका लागि ठूलो हलमा खर्च गरेको उनको भनाइ छ। यहाँको शाखामा मात्र १२ करोड रूपैयाँ खर्च भएको चापागाईंले जानकारी दिए।
होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले विदेशको सीप उपयोग हुने गरी स्वदेशमा व्यवसाय विस्तार गर्नु सकारात्मक भएको बताए।
अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उनको भनाइ छ।
चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रम हुन नसकेको भन्दै उनले चापागाई समूहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने बताए।
दियालो फुडल्याण्ड चितवनका साझेदार सनदकुमार पियाले विदेशमा आर्जन गरेको सीप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाईंले गरेको बताए। नेतृत्वकर्तासँग सीप भएकाले आफूहरू लगानी गर्दा ढुक्क रहेको उनको भनाइ छ। (रासस)