राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ४ वटा उद्योगहरुलाई २ करोड ९० लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ। जर्मन सरकारको केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ऊर्जा दक्षता कार्यक्रमको अनुदान सहयोग अन्र्तगत बिहीबार उद्योगहरुलाई सो रकम हस्तान्तरण गरेको हो।
बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई १ करोड, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार ३२०, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार २३१ र सालिमार मेटल्सलाई ३२ लाख ८ हजार ८०० रुपैंया हस्तान्तरण गरेको छ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेकाले स्वीकृत अनुदान कार्यविधि अनुसारको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो।
नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका हुन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे। उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए।
यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम बैंक मार्फत उपलब्ध गराइने छ।
कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बताइएको छ।