हेटौंडाको युनिलिभरमा छापा मारेर नियन्त्रणमा लिइएको चियाको 'स्याम्पल'लाई परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले काठमाडौंस्थित विभागमा पठाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले म्याद गुज्रेर रि-प्याकेजिङ गरी रेड लेवल चियाको नाममा बजारमा पठाएको फेला पारेपछि गत भदौं १७ गते युनिलिभरमा छापा मारेको थियो।
स्याम्पल लामो समयसम्म हेटौंडा राखेर कार्यालयले थप परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा पठाएको हो।
चियापत्तिको जाँच हेटौंडामा नै हुने भएतापनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले काठमाडौं पठाएपछि त्यसलाई शंकाको रुपमा हेरिएको छ।
'चियाको नमूना हेटौंडा कार्यालयले पठाएको होला, यस विषयमा मलाई केही रिपोर्टिङ आइसकेको छैन, 'विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सेतोपाटीसँग भने,' ल्यावमा आएको भए रिपोर्ट आउने वित्तिकै पठाइहाल्छौं।'
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले युनिलिभरमा छापा मारेर ३२ टन म्याद गुज्रेको चिया बरामद गरी सिल गरेको थियो।
'काठमाडौंबाट रिपोर्ट आएपछि युनिलिभरलाई कस्तो प्रकारको कारबाही गर्ने भनेर हामी निर्णय लिन्छौं, 'मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने,' विभागबाट रिपोर्ट अझै आइसकेको छैन।'
विभागले चाँडो रिपोर्ट नपठाउदाँ युनिलिभरलाई कारबाही गर्न समस्या भएको पाण्डेले बताए।
भारतबाट आयात गरी म्याद गुज्रिएको चियालाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला पारिएसँगै युनिलिभरमा सिल गरिएको छ ।
स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले चिया प्लाण्टमा अनुगमन गर्दा उपभोक्तालाइ म्याद नाघेको चिया बेचेर युनिलिभरले चरम लापरवाही गरेको निष्कर्ष निकालेको थियो। ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्न लागि परेको अभियोजनमा मुद्दा अघि बढाइएको छ ।