नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् ।
बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ।
महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको 'बेलायत भिसा र अध्यागमन' विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै ढकालले काठमाडौं स्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए।
'बेलायती भिसा हाल नेपालबाट प्रत्येक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाईहरु र समस्याहरुको सामना गर्नु परिरहेको छ,' उपाध्यक्ष ढकालले भने, 'यसरी हामी सरोकारवालाबीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरल रूपमा भिसा उपलब्ध हुनेछ।'
नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको उनले बताए।
नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ।