अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकोले तेलको मूल्य बढेको तेल उत्पादक उद्योगीहरूले बताएका छन्।नेपाल वनस्पती घ्यु तेल उत्पादक संघले विज्ञप्ती जारी गर्दै खानेतेलमा कर र अन्तर्राष्ट्रिय बजारमा क्रुड सोयाविनको मूल्य वृद्धि भएको बताएको हो।
१७ महिनामा कच्चा पदार्थको मूल्यमा दोब्वर बढी वृद्धिका कारण तेलको मूल्य बढेको विज्ञप्तीमा उल्लेख छ। खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएको उद्योगीले बताएका छन्।
‘कोभिड–१९ को कारण ढुवानी भाडा वृद्धि भएको, डिजेल पेट्रोलको मूल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तर्राष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मूल्यमा प्रति लिटर २० देखि २५ रूपैयाँसम्म वृद्धिको असर पर्न गएको छ,’ जारी विज्ञप्तीमा उल्लेख छ।
सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको उद्योगीहरूले बताएका छन्।
उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ।
यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा सोही बजारको व्यापार अनुरुप नै यहाँ मूल्य निर्धारण भएको उद्योगीहरूको भनाइ छ।