काठमाडौं- श्रीलंका उडान सुरु गरेको एक महिना नपुग्दै श्रीलंकन एयरलाइन्सले उडान संख्या थप गरेको छ।
उक्त रुटमा उडान संख्या थप गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ। प्राधिकरणले २७ सेप्टेम्बरदेखि हप्तामा चार उडान भर्न अनुमति दिएको हो।
अब एयरलाइन्सले साताको सोमबार, मंगलबार, बिहिबार र शनिबार उडान भर्ने छ। उक्त रुटमा यात्रुको चाप रहेका कारण उडान संख्या थप गरिएको नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका म्यानेजर दीपक मैनालीले सेतोपाटीलाई बताए।
श्रीलंकन एयरलाइन्सले गत ३१ अगस्टदेखि काठमाडौं-श्रीलंका सीधा उडान सुरु गरेको थियो। एयरलाइन्सले हाल मंगलबार र शनिबार मात्रै उडान गर्दै आएको छ।
जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना कम्पनीको छ। यी उडान सेप्टेम्बर मध्यबाट सुरु गर्ने कम्पनीको तयारी छ।
कोभिड महामारीको अवस्था सामान्य भएपछि यी उडानले पर्यटकहरुलाई नेपालसँग जोड्न उल्लेख्य भूमिका खेल्ने कम्पनीले विश्वास लिएको छ।
हाल एयरलाइन्सले साउदी, दोहा, माल्दिभ्स, दुबईमा उडान गरिरहेको छ।