निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सले उडानको २३ वर्ष पूरा गरेको छ। २१ सेप्टेम्वर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई बार्षिक उत्सवको रुपमा मनाउँदै आएको छ।
एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गरिरहेको दावी गरेको छ।
स्थापनाको सुरुमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए।
‘यती र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, कर्मठ कर्मचारी, साझेदार सङ्घसंस्थाहरुको लगन, मेहनत, इमान्दारी तथा यात्रुहरुको विश्वासले एयरलाइन्सले गौरवमय २३ वर्ष पुरा गर्न सफल भएको छ,’ सिइओ रिमालले भने।
२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको जनाएको छ। हालै यतीले आफूसँग रहेको ५ वटा विमान बिक्री गरेको हो।
एयरलाइन्सले २३ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टर सुरु गरेको छ।
कलसेन्टर सुरु भएसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिनेछ।
एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेकै कारण यती एअरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाईमा परेको बताए।
‘हामीले बिरामी, शारीरिक अशक्तता भएका यात्रु, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखेका छौँ,’ उनले भने।
यती नेपालको पहिलो र एकमात्र कार्वन न्युट्रल भएको कम्पनीको दावी छ। यतिले वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको छ। आगामी वर्ष वायुयानको संख्या थप गर्ने कम्पनीको योजना छ।
चार्टर उडानमार्फत् अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने प्रवक्ता बर्तौलाले बताए।
यतीले हाल पाँचवटा एटिआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ।
भगिनी संस्था तारा एयरको चारवटा ‘ट्वीन–अटर’ विमानमार्फत् दूर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ।