कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागकिरलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।
सरकारको निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने परिसंघको विश्वास छ।
उक्त निर्णयले विदेशी पर्यटक आवागमनमा सहज हुने र पर्यटन क्षेत्र पुनरुत्थान हुने परिसंघको बुझाइ छ।
अनअराइभल भिजा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई अघि बढाउन सरकारले समन्वय गर्नुपर्ने परिसंघको जोड छ।
सरकारले अनअराइभल भिसा खुला गरे पनि अझै केही मुलुकले नेपाललाई ‘रेड लिस्ट’मा राखेको छन्। नेपाल सरकारले नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिएर पर्यटकलाई सुरक्षित गन्तव्यको पहिचान दिनुपर्नेमा परिसंघको भनाई छ।
‘अब देशभित्र सम्पूर्ण नागरिकलाई शीघ्र खोप उपलब्ध गराउने र विदेशी नागरिकलाई नेपाल सुरक्षित रूपमा घुम्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ,’ परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भने।
आदेशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ। एन्टिजेन पोजिटिभ देखिए आइसोलेसनमा बस्नुपर्नेछ। नेगेटिभ देखिए आफ्नो गन्तव्य प्रस्थान गर्न सक्नेछन्।