धनुषाको बटेश्वर गाउँपालिका—१ का सञ्जय महतोको पारिवारिक आर्थिक स्थिति राम्रो थिएन। पुर्खादेखि खेतीपाती नै मुख्य पेसा। आमाबुवाले किसानीसँगै ज्याला मजदुरी गरेर सञ्जयहरूलाई हुर्काए।
उनीहरूको पुस्तैनी परिवार त के, छिमेकी र आफन्तले समेत व्यापार गरेको उनलाई थाहा थिएन। न उनको परिवारलाई नै थाहा थियो। त्यसैले उनीहरू कोही पनि कृषिबाहेक पेसा रोज्ने हिम्मतै गर्थेनन्।
फेरि कुशवाह जातिले खेतीपाती नै गर्नुपर्छ भन्ने सामाजिक मान्यता पनि जरो गाढेर बसेको थियो।
तर समयसँगै उनीहरूको जग्गामा राम्रो उब्जनी हुन छाड्यो। सिचाइँ, मल अभाव हुँदा उब्जाउ क्षमता बिग्रेको सञ्जयका ठूलाबडाले बताउँथे। खेतको आम्दानीबाट परिवार चलाउन हम्मे भयो।
अनि महतो परिवारका सदस्यले घर धान्न आयको वैकल्पिक स्रोत र काम खोज्न थाले। सञ्जयका दाइ विजयले सिलाइकटाइ सिके। त्यही काम थाले।
सञ्जय पनि घरको अवस्था बुझ्ने भइसकेका थिए, काम खोज्न थाले।
खोज्दै जाँदा उनले साथीहरूको सम्पर्कबाट महोत्तरीको बर्दिबासस्थित कापी कारखानामा काम पाए। स्थानीय काँग्रेस नेता चिरञ्जिवी हमालले सञ्चालन गरेको 'न्यु सगरमाथा कपी उद्योग' मा झन्डै साढे तीन वर्ष उनले मार्केटिङको काम गरे।
तर पछि हमालले अर्को व्यवसाय सुरू गरे र कापी उद्योग सञ्जयलाई नै चलाउन भने।
'काम गर्दै जाँदा धेरै कुरा सिकेँ। उहाँले उद्योग चलाउन नसकेपछि मलाई चलाउन भन्नुभयो। तर केही दिनपछि मेसिन नै बिग्रे,' सञ्जयले सम्झिए, 'काम गर्ने मान्छे पनि थिएनन्। म एक्लै भएपछि छोडिदिएँ।'
रोजगार गुमे पनि सञ्जय हतास भएनन्। उनलाई अब व्यापार गर्नुपर्छ भन्ने भयो, 'त्यहीँबाट हो मलाई बिजनेस गर्ने जुनून चलेको।'
उनको मनमा व्यापार गर्ने सपनाले हाँगा हाल्दै गयो। तर परिवारमा कसैले नगरेको काम गर्न सजिलो कहाँ थियो र! पैसा पनि थिएन।
एसएलसी पास गरेका उनले थप पढ्नुभन्दा विदेश जाने सुर गरे। केही पैसा कमाउन सके फर्केर व्यापार गर्न सजिलो हुन्छ भन्ने उनलाई लाग्यो।
यो दस वर्षअगाडिको कुरा हो।
'खेतमा उब्जनी हुन छाडिसकेको थियो। काम पनि नभएपछि केही प्रगति हुने देखिएन। जमिनमा सबैतिर आँप र अरू रूखबिरूवा लगाइयो,' उनले भने, 'यता मैले व्यापार गर्ने सपना देखिसकेको थिएँ। विदेशमा पनि व्यवसायसँगै सम्बन्धित काममा जाने योजना बनाएँ। भाषा पनि सिकेँ।'
उनी मलेसिया हानिए। त्यहाँ स्टेसनरी स्टोरमा सेल्सम्यानको काम पाए। मासिक झन्डै ५५ हजार रूपैयाँ कमाउँथे। मार्केटिङको काम भएपछि व्यापार गर्ने तरिका पनि सिक्दै गए।
'कम्पनीमा सामान किन्ने र बेच्ने काम हामी नै गर्थ्यौं। कसरी, कस्तो र कुन मूल्यको किन्ने र बेच्ने सबै कुरा सिकेँ,' सञ्जयले भने।
उनले छुट्टीको समयमा स्टेसनरी उत्पादन सम्बन्धी काम पनि सिके। अनि विदेश गएको चार वर्षपछि, २०७६ सालमा घर फर्के। व्यापार गर्ने धून छँदै थियो। कमाएको पैसा बचाएका थिए।
बीस लाख लगानी गरी उनले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवर चोकमा सुरू गरे- लवकुश स्टेसनरी तथा कापी उद्योग।
'कमाएको बीस लाख रूपैयाँ कटिङ, रोलिङ, बन्डिङ लगायत मेसिन किन्दा सकियो,' उनले भने, 'उद्योग सञ्चालन र उत्पादनका लागि कच्चा पदार्थ लगायत सबै सामान किन्न ३५ लाख रूपैयाँ ऋण निकालेँ।'
ऋण निकाल्न उनी आफ्नो व्यवसायिक योजना सुनाउँदै कृषि विकास बैंक पुगे। सरकारी बैंकमा सस्तो ब्याजदर पाइएला भनेर गएका थिए। कसैले वास्ता नगरेपछि निरास हुँदै ढल्केवरस्थित माछापुच्छ्रे बैंक पुगे। धितो बिना ऋण नपाउने भएपछि उनले दस कठ्ठा जग्गा धितो राखेर ३५ लाख रूपैयाँ ऋण झिके।
उद्योग सञ्चालन गर्न आवश्यक मेसिनहरू भारत, पञ्जाबबाट किनेर ल्याए। यसरी ५५ लाख रूपैयाँ लगानीबाट व्यवसाय सुरू गरेका सञ्जय अहिले दुई वर्षमा डेढ करोड बढीका मालिक बनेको बताउँछन्।
'कोरोना महामारीले सोचेजति फस्टाएन। विद्यालय बन्द भएपछि स्टेसनरी खपत कम भयो। स्कुल खुलेपछि व्यवसायले फेरि गति लिनेछ,' उनी आशावादी छन्, 'उत्पादित सामग्री र बजारको उधारो सबै मिलाएर अहिले डेढ करोड बढी पुँजी पुगेको छ। महामारी नभएको भए दोब्बर हुन्थ्यो।'
लकडाउनमा उद्योग बन्द हुँदा भाडा तिर्न उनलाई गाह्रो भएको थियो। पहिलो लकडाउनमा जसोतसो तिरे। दोस्रोमा पनि छ महिनाको त तिरे तर अब तिर्न सकिन्न भन्ने लाग्यो। उनले आफ्नो घरमै उद्योग सारे।
अहिले उनको उद्योग गाउँकै लवकुश चोकस्थित आफ्नै घरमा चलिरहेको छ। उनका अनुसार अहिले दैनिक ६/७ हजार वटा कापी तथा रजिष्टरहरू उत्पादन हुन्छ। कच्चा पदार्थ उनले भारतको पन्जाबसहित नेपालको लुम्बिनी, नवलपरासी, वीरगञ्ज, महेन्द्रनगर लगायत ठाउँबाट ल्याउँछन्। लवकुश उद्योगमा मासिक बीस लाख रूपैयाँ बढीको कच्चा पदार्थ खपत हुने उनले जानकारी दिए।
सञ्जयका अनुसार उद्योगका सामान २२ जिल्लामा पुग्छ। वितरक तथा पुस्तक पसलसम्म सामग्री पुर्याउन दुइटा पिकअप गाडी भाडामा लिएका छन्। उद्योगको पूरा आम्दानीबाट मासिक ५/६ लाख रूपैयाँसम्म बचत हुने उनले बताए।
उद्योग सुरू गर्दा तीन जना कर्मचारीबाट सुरू गरेका सञ्जयले अहिले १६ जनालाई रोजगारी दिएका छन्।
'विदेशमा मात्र कमाइ हुन्छ भन्ने सोच गलत हो। तन, मनले भिजनसहित काम गर्ने हो भने व्यवसाय मात्र होइन अरू क्षेत्रमा पनि थुप्रै अवसर छन्,' उनले भने, 'म आफ्नो उद्योगलाई ब्रान्ड बनाउन चाहन्छु। केही दिनभित्रै दैनिक तीस हजार वटा कापी उत्पादन गर्ने र यहाँका अरू युवालाई रोजगारी दिने, सीप सिकाउने योजना छ।'
युवा स्वरोजगार अन्तर्गत दिइने सहयोग र सस्तो ब्याजदरमा ऋण पाइए अरूलाई समेत व्यापार गर्न टेवा पुग्ने सञ्जयको भनाइ छ।
लवकुश उद्योग सञ्चालनमा सञ्जयका बुवा घुरण, आमा फुलवती, पत्नी दुलारी र दाइ विजयले पनि सहयोग गर्छन्। परिवारको साथबिना यतिधेरै जोखिम लिन सम्भव नभएको उनी बताउँछन्।
'उद्योगको निगरानीदेखि बजार व्यवस्थापनसम्म उहाँहरूले धेरै साथ दिनुभयो। व्यवसाय सुरू गर्दा उहाँहरूले दिएको हौसलाले यहाँसम्म आएको हुँ,' उनले भने।