नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा जेठ दुई अघिकै संरचना क्रियाशील रहने भएको छ।
पार्टीले गरेको दश बुँदे सहमति लागू गर्न बिहिवार बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ दुई अघिको संरचना क्रियाशील गर्ने निर्णय गरेको हो।
जेठ दुई अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ बर्ष पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहेका लिम्बुलाई अध्यक्ष बनाइएको हो।
नेकपा विभाजनपछि तत्कालीन केपी शर्मा ओली पक्षले लिम्बुको संयोजकमा ८५१ केन्द्रिय सदस्य पुनर्गठन गरेको थियो। महासंघका इन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको बैठकले लिम्बुको अध्यक्षतामा १२ जना पदाधिकरी चयन गरेको छ।
२७ जना पदाधिकारी रहने ब्यबस्था गरिएकोमा हाललाई १२ जना पदाधिकारीहरु मात्रै चयन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल,डिबि बस्नेत छन्।
त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन्।
संगठनको कोषाध्यक्षमा वालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् ।
बैठकले ११०० केन्द्रिय परिषद, २५१ सदस्यको केन्द्रीय कमिटी, १०१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिए। भूगोल, कर्पोरेट र वस्तुगत संघहरुको अलग कमिटी समेत गठन गरि सबैको प्रतिनिधित्व गराउने तयारीमा रहेको अध्यक्ष लिम्बुले बताए।