नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय सात महिला उद्यमीलाई सम्मान गरेको छ।
विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले उनीहरूलाई सम्मान गरेको हो।
लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरिएको परिसंघले जानकारी दिएको छ। उनीहरु पर्यटन प्रवर्द्धन तथा विकासमा सक्रिय थिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताए।
उनले नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैं तयार रहेको उल्लेख गरे।
स्वदेशीवस्तुको उत्पादन र प्रवद्र्धनका लागि पहल गर्न पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय हुने समेत उनले बताए।
‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दीगो बनाउन महिलाको भूमिका महत्वपूर्ण छ,’ सचिव कोइरालाले भने।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दीगो आर्थिक विकासको आधारशीला तयार गर्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने बताए।
उनले नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थान आवश्यक रहेको औंल्याए।