निषेधाज्ञा खुलेसँगै सौराहाका होटल व्यवसायीहरुले छुटका प्याकेजहरु घोषणा गर्न थालेका छन्।
२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन क्षेत्रमा गत वर्षका केही महिना चहलपहल देखिएको थियो। तर कोरोना भाइरसको दोस्रो लहर भित्रिएसँगै पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआत देखि नै पर्यटन क्षेत्र ठप्प हुँदै आएको थियो।
चितवन प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै जिल्लाका पर्यटकीय क्षेत्रमा हाल चलहपहल बढ्न थालेको छ।पर्यटकहरुलाई आकर्षित गर्न यहाँका होटलहरुले छुटका प्याकेजहरु घोषणा गर्न थालेका छन्।
सौराहामा २०७२ सालदेखि सञ्चालन हुँदै आएको होटल जंगल क्राउनले पर्यटकका लागि ‘फेष्टिबल अफर, ‘हनिमुन/एनिभर्सरी प्याकेज’ सुरु गरेको छ।
हनिमुन/एनिभर्सरी प्याकेजका लागि भिल्लाहरु सजाइएको र त्यहाँ पाँच तारे होटलको जस्तै सुविधा उपलब्ध रहेको सिइओ सन्तोष गिरीले बताए। उक्त भिल्लामा रहन जोडीका लागि प्रतिदिन ९ हजार रुपैयाँको प्याकेज ल्याइएको उनले बताए।
‘यो प्याकेज अन्तर्गत जोडीका लागि केक, वाइन, फलफूल, कोठामै ब्रेकफास्ट, स्विमिङ पुलमा डिनरलगायतको व्यवस्था छ,’ उनले भने।
त्यस्तै फेष्टिबल अफरअन्तर्गत दुई दिन एक रातको प्याकेजको व्यवस्था होटलले गरेको छ। ७ हजार ५ सय रुपैयाँको उक्त प्याकेज एक जोडी र १० वर्षमुनिका दुई जना बालबालिकाहरुले संयुक्तरुपमा उपयोग गर्न पाउनेछन्। साथै खाना र पेय पदार्थमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको गिरीले बताए।
त्यसैगरी तीन रात बस्न आउने पर्यटकलाई एक रातको खर्च छुट गर्ने पनि गिरीले बताए। ‘यहाँ आउने पर्यटकहरुलाई जंगल सफारीका विभिन्न गतिविधिहरुमा छुट दिइनेछ,’ गिरीले भने, ‘सबै पर्यटकहरुलाई खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको छौं।’
यी सबै प्याकेजहरु नेपाली पर्यटकहरुका लागि मात्र रहेको उनले बताए। यस होटलले विदेशी पर्यटकका लागि भने एक रात बसेको ७० डलर लिने गरेको छ।
जंगल क्राउनमा पर्यटकका लागि ४ हजार देखि १५ हजार रुपैयाँसम्मका ४० वटा कोठाहरु उपलब्ध रहेको गिरीले बताए।
‘लकडाउन खुलेसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ। शुक्रबार र शनिबार त सबै कोठाहरु भरिन्छन्,’ गिरीले भने, ‘सौराहामा पर्यटकको आगमनलाई विगतमा जस्तै बनाउन आकर्षक छुटका कार्यक्रमहरु ल्याएका छौं।’
सौराहाका होटल सेभोन स्टार, पार्क सफारी रिसोर्ट, जंगल सफारी लज, होटल नेचर हेरिटेज, रेन फरेष्ट लगायतका होटलहरुले छुटका प्याकेज ल्याएका छन्। होटल सेभेन स्टारले दशैं, तिहारको अवसरमा कोठामा ४० र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको छ।
जंगल सफारीले ‘पे नाउ, गो लेटर’ प्याकेज ल्याएको छ। सौराहामा अहिले एक सय दश वटा होटल र करिब एक सयवटा रेष्टुरेन्टहरु सञ्चालनमा छन्।