एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडान गर्ने भएको छ।
नेपालमा कोरोना संक्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।
यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिए।
'विगतका वर्षमा जस्तै पोखरा विमानस्थलमा नै जहाज राखेर तारा एयरको १९ सिटे विमानमार्फत् दैनिक उडान गर्न लागेका छौं,' उनले भने।
कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा-जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान भर्दै आएको थियो।
जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाले बिहान १२ बजेभित्र नै उडान भर्नुपर्ने हुन्छ।
दुर्गममा उडान गर्ने वायुसेवामा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ।
तारा एयरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर वायुयान छ। ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान भर्दै आएको छ।