सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले उपत्यकाका आउटलेटमा मात्रै चिनी बिक्री गर्ने भएको छ।
चिनीको मौज्दात थोरै रहेकाले काठमाडौं उपत्यकामा मात्रै बेच्ने भएको कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए।
‘चिनी थोरै छ। बाहिर पठाउन पुग्दैन,’ उनले भने, ‘यहीँ मात्रै बेच्छौं।’
उनका अनुसार अहिले कर्पोरेसनसँग दुई सय ५० टन चिनी मौज्दात छ। उक्त परिमाणको चिनी कर्पोरेसनले भक्तपुर, वनेपा, कोटेश्वर, जावलाखेल, कालिमाटी र सतुंगलमा रहेको आउटलेटबाट बिक्री गरिने जानकारी दिएको छ।
कर्पोरेशनले चालू आर्थिक वर्षमा चिनी ल्याएको छैन। गत वर्ष मौज्दात रहेको चिनी बिक्री गरेको हो।
सरकारले असोज १ देखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको छ। ती पसलमा सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थान (डिडिसी)का सामग्री पाइन्छ।
सहुलियत पसल ३९ स्थानमा सञ्चालनमा छ।
सहुलियत पसलमा ग्राहकले चामल मोटा/मसिनो प्रतिकेजी ५, सिमी, फापर १० रूपैयाँ छुट दिइएको छ। त्यस्तै, नुन प्रति प्याकेट २, चिनी प्रतिकेजी ५, खसीबोका प्रतिकेजी १० साथै दूग्ध विकास संस्थानबाट बिक्री हुने दूध, पनिर, घ्यु लगायतका दूधजन्य सामग्रीमा पनि ५ देखि १० छुट दिइएको छ।
खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा केही समस्या नभएको नेपाल आयल निगमले बताएको छ।
चाडबाडको समयमा खरिद, बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मूल्य, गुणस्तर र तौल लगायतको विषयमा वाणज्य विभागले कार्ययोजना बनाई संयुक्त गरिहेको जानकारी दिएको छ।