अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेका छन्।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन्।
दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्।
हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको कम्पनीले बताएको छ।
यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ।
फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ।
फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहँुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।