नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरेको बताएका छन्।
उनले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताए।
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोश्रो साधारण सभालाई सनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्र मैत्री नरहेको दावी गरे।
‘सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ,’ ढकालले भने।
पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौं कन्टेनर बोर्डरमा अलपत्र परेका ढकालले बताए।
सरकारले निजी क्षेत्रसँग जोडिएका कुनै पनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श गर्न पनि सरकारलाई उनले आग्रह गर्दै उनले भने ‘सरकारले बनाउने नीतिले दीर्घकालीन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्छ, जसले देशको उद्योग व्यवसाय फस्टाउन सकोस् र निजी क्षेत्रको पनि हित गर्न सकोस।’
नेपाल सरकारले गर्नुपर्ने काममा समेत निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वमार्फत् योगदान गरिरहेकाले सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने ढकालको भनाई थियो।
‘हरेक उद्योगी व्यवसायीले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सरकारले गर्नुपर्ने काममा सघाइरहेका छन् तर सरकारले भने यस क्षेत्रलाई प्रोत्साहनको सट्टा हतोत्साही बनाउने मात्र गरेको गुनासो देशव्यापी रुपमा व्यवसायीहरुको छ,’ उनको।