निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ।
आजदेखि भैरहवा नियमित उडान सुरु हुने गुण एयरलाइन्सका प्रवक्ता एंव बजार प्रमुख प्रज्वल थापाले बताए। यसअघि एयरलाइन्सले तुम्लिङटार, भरतपुर र पोखरामा उडान भर्दै आएको थियो।
यहि असोजको दोस्रो सातामात्रै गुणका पाँच वटा जेट्स्ट्रीम जहाजले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरेका छन्।
योसँगै अव गुणले विराटनगर, जनकपुर, सिमरा र नेपालगन्जमा पनि उडान सुरु गर्नेछ।
‘हामी अबको तीन÷चार दिन भित्रनै यी गन्तव्यमा उडान सुरु गर्छौ, चार जेट्स्ट्रीम जहाजबाट सेवा दिन्छौँ,’ बजार प्रमुख थापाले सेतोपाटीसँग भने।
दसैंलाई लक्षित गर्दै यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा दिन कुनै कसर बाँकी नराख्ने थापा बताउँछन्।
अहिलेको हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा सहुलियत दरमा गुणस्तरीय सेवा दिने कम्पनीको दावी छ।
गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रुहरुको सहजताका लागि दुईवटा विद्युतीय बस समेत सञ्चालनमा ल्याएको छ।
अब गुणले दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँचवटा जेट्स्ट्रीमसमेत गरी कुल सात विमानबाट सेवा दिनेछ।