दसैंको समयमा खसीको मासुको खपत बढी हुन्छ। धार्मिक, साँस्कृतिक महत्वसँगै दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रुपमा पनि लिइन्छ।
धेरैले घरमै खसी, बोका, च्याङग्रा, भेडा आदि काटेर मासु खाने गरेका छन्।
सरकारले समेत उपभोक्ताले सहजरुपमा खसीबोका पाउन् भनेर खाद्य कम्पनीमार्फत बिक्री गर्ने गरेको छ। तर, दसैंका लागि खसीबोका छान्दा धेरै कुरामा ध्यान पुर्याउनु पर्छ।
काठमाडौं उपत्यकामा ल्याइने खसीबोकाको सिङमा नीलो र रातो रंग लगाइएको हुन्छ। नीलो रंग लगाइएका खसी स्वस्थ हुन् भने रातो रंग लगाइएका अस्वस्थ हुन्।
उपभोक्ताले स्वस्थ खसी पाऊन् भनेर पशु सेवा विभागले प्राविधिक टोलीलाई खसीबोकाको स्वास्थ्य परीक्षण गर्न खटाएको छ।
तपाईं पनि खसी किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाइएको खसी रोज्नुस्। त्यसो गर्नुभयो भने तपाईंले स्वस्थ खसी पाउनुहुन्छ।
‘खसी स्वस्थ रहेको अवस्थामा सिङमा हरियो रङ पोतिन्छ र अस्वस्थ भेटिए रातो रङ पोतिन्छ,’ पशु सेवा विभागका प्रवक्ता डा.चन्द्र ढकालले भने।
उनका अनुसार आजदेखि नै विभागले पशु स्वास्थ्य परीक्षण कार्य सुरू गरेको हो।
खसीको स्वास्थ्य परीक्षण गर्दा आँखामा कचेरा, नाकमा सिँगान, ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ। जाँच गर्दा सबै सामान्य भेटिए खसीको सिङमा हरियो रङ ‘स्प्रे’ गरिन्छ।
जाँच गर्दा ज्वरो, आँखामा कचेरा, नाकमा सिँगान र पातलो दिसा देखिए खसीको सिङमा रातो रङ ‘स्प्रे’ गरिन्छ।
अस्वस्थ खसी तुरून्त रातो रङ लगाएर उपचार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको प्रवक्ता ढकालले जानकारी दिए।
राजधानीको कलंकी, बल्खु, थानकोट, बालाजु, टुकुचा र लगनखेलको खसीबजारमा प्राविधिक टोलीले खसी बोकाको स्वस्थ्य परीक्षण गर्न सुरू गरेको छ।
कलंकी बजारबाट अन्य ठाउँमा पनि खसी जाने भएकाले बढी विशेष ध्यान दिइएको उनले बताए।
उनका अनुसार नवमीसम्म विभिन्न खसीबोका बिक्रीस्थलमा गएर समेत प्रत्येक दिन बिहान पशु चिकित्सकले स्वस्थ्य परीक्षण गरिने छ।
‘हामी आजदेखि नवमीसम्म पशुको स्वास्थ्य परिक्षणमा खटिन्छौं,’ उनले भने।
नेपाल चौपाया खरिदबिक्री तथा कृषि फार्म ग्रुपका अध्यक्ष दिपक थापाले ढाड मोटो भएका खसीबोका स्वादिलो र स्वस्थ हुने बताए।
‘दसैंका लागि किन्ने खसीबोकाको ढाड छामेर पनि गुणस्तरबारे बुझ्न सकिन्छ,’ उनले भने।
उनका अनुसार हेर्दा टाठो देखिने खसीबोका पनि स्वस्थ हुन्छन्।
उपभोक्तालाई खसी किन्दा आँखामा कचेरा नलागेको, नाकबाट सिंगान नबगेको र भुँडी नढाडिएको खसीबोका किन्न उनले सुझाएका छन्।
‘सरकारले पनि स्वस्थ र अस्वस्थ खसी छुट्याइदिएको छ,’ उनले भने, ‘कतै छुटेको रहेको छ भने पनि हेर्दै झोक्राएर बसेको खसी चाहिँ किन्नु हुँदैन।’
उनका अनुसार छोटो कान भएका लोकल खसीबोका मासुका लागि राम्रो मानिन्छ।