टिकटक।
पछिल्लो समय यो यस्तो सामाजिक सञ्जाल बनेको छ जसले कुनै पनि कुरालाई उचाइमा पुर्याइदिन सक्छ। चाहे गीत होस्, चाहे फेसन। नृत्यका चाल होस् वा कुनै सीप वा कला।
सही तरिकाले, प्रयोगकर्ताले रूचाउने हिसाबमा भिडिओ बनाए, टिकटक प्रचारको राम्रो थलो बन्न सक्छ। अनि आफ्नो काम विस्तार गरी कमाउन पनि सकिन्छ।
यसैको उदाहरण हुन् दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टीका दीपक श्रेष्ठ।
उनी टिकटकमा सक्रिय छन्। दस हजार मात्र फलोअर्स भए पनि उनको ठाउँमा आफ्नो कामको प्रचार गर्न पर्याप्त छ।
दीपक तुलसीपुर बजारमै रहेको लोकप्रिय युनिसेक्स सैलुन एन्ड मेकअप स्टुडियोमा काम गर्छन्। उनी महिला-पुरुषको कपाल काट्छन्, रंगाउँछन्, सजाउँछन्।
आफ्नो यही सीपलाई दीपक भिडिओमा उतारेर टिकटकमा राख्छन्। अनि उनको भिडिओ हेरेरै धेरै ग्राहक उनको हातबाट कपाल काट्न र सजाउन आइपुग्छन्।
'टिकटकमा मेरो भिडिओ हेरेर धेरै टाढा-टाढाबाट दिदीबहिनीहरू कपाल बनाउन आउनुहुन्छ,' दीपकले सेतोपाटीसँग भने, 'कपाल काटेर वा रंगाएर अधिकांशले फेरि टिकटक बनाइदिन आग्रह गर्नुहुन्छ।'
टिकटक भिडिओकै कारण कपाल बनाउन चाहने महिलाहरूको धेरै फोन आउने उनले बताए। उनी व्यस्त हुँदा सहकर्मीले समेत फोन उठाएर जवाफ दिन्छन्।
'म एकदमै व्यस्त हुन्छु। धेरै फोन उठाउनै भ्याउँदिनँ,' उनले भने, 'त्यसैले कतिपय त रिसाउनु हुन्छ। तर यहाँ आएर मेरो अवस्था देखेपछि शान्त बन्नु हुन्छ।'
आउने ग्राहकमध्ये लगभग ९० प्रतिशत टिकटकमै देखेर आउने उनको भनाइ छ।
यो दीपकको आफ्नै सैलुन होइन। यसका सञ्चालक तुलसीपुर-९ का बासिन्दा घनश्याम डाँगी हुन्। घनश्यामले फेन्सी पसल बेचेर झन्डै ५० लाख लगानीमा खोलेको यो सैलुन तुलसीपुरमा हालसम्मकै 'आधुनिक' मानिन्छ। कपाल काट्ने सिपालुहरू त भइहाले, यहाँ एसी र कपाल नुहाउने पनि सुविधा छ। धेरैबेर कुर्न परे ग्राहकलाई खाजा खान सहज होस् भनेर घनश्यामले सैलुनसँगै रेस्टुरेन्ट पनि चलाएका छन्।
'तुलसीपुरबाट कपाल काट्न र सजाउनै दिदीबहिनीहरू बाँके, बुटवल, काठमाडौंसम्म गएको थाहा पाएको छु,' घनश्यामले भने, 'उहाँहरूलाई मध्यनजर गर्दै मैले सैलुनमा लगानी गरेको हुँ।'
घनश्यामले सैलुनमा झन्डै आधा दर्जनलाई रोजगारी दिएका छन्। यिनैमध्ये एक हुन् दीपक।
यही ठाउँका भए पनि दीपक सुरूमै यो सैलुनमा जोडिएका होइनन्। उनले यहाँसम्म आइपुग्दासम्म विभिन्न सुखदुःखका अनुभव सँगालिसकेका छन्।
दीपक मध्यवर्गीय परिवारमा जन्मे-हुर्केका हुन्। २०६९ सालमा उनी प्लस-टु पढ्दै थिए। त्यो बेला १८ वर्षका उनी पैसा कमाउन विदेश जानुपर्छ भन्दै मलेसिया हानिए।
मलेसियामा उनले खाद्य कम्पनीमा काम पाए। पिज्जा बनाउने कम्पनी भएकाले उनले चुलोमा काम गर्नुपर्थ्यो। एक त निकै गर्मी, त्यहाँमाथि चुलोको अगाडि १२ घन्टा उभिएर काम गर्नुपर्ने।
'न खाने समय, न सुत्ने,' उनले त्यो कामको अनुभव सुनाए, 'तर जसरी हुन्छ धेरै कमाउने भन्ने थियो।'
त्यसैले दीपक ओभरटाइम पनि गर्दै दैनिक १६ घन्टा काम गर्थे। यति खट्दा महिनाको ५० हजार जति कमाइ हुन्थ्यो।
उनी गएको छ महिना मात्र भएको थियो, कमाइले मन खुसी हुँदै थियो, दुर्घटनामा परे। सेन्सरबाट चल्ने रोटी काट्ने मेसिनमा उनको दाँया हात पस्यो। हात धेरै काटियो।
तीन महिना उपचारमै बित्यो। हात विसेक भएपछि दीपकले फेरि त्यही काम सुरू गरे। करिब छ महिनाजति काम गरिरहे। तर उनको दुःख फर्क्यो। दीपकको देब्र हात पनि मेसिनमा छिर्यो।
'रोटी बनाउँदा सेतो ठूलो गाउन लगाउनु पर्थ्यो। तर म सानो कदको मान्छेलाई ह्वालाङ्ग हुन्थ्यो,' उनले सुनाए, 'त्यही गाउन तारमा अल्झिएर मेसिनमा छिर्यो। मेसिनले मलाई नै स्वाट्टै तान्यो र मेरो देब्र हात भाँचियो।'
उनको नाडी 'स्टिल प्लेट' राखेर जोड्नुपर्यो।
त्यो बेला भने कम्पनीले पनि उनलाई काममा राख्न नसक्ने भन्दै फर्काइदियो।
ऋण काढेर मलेसिया पुगेका दीपक घर फर्किन बाध्य भए। ऋण तिर्ने पैसा जुटेकै थिएन। दीपकलाई साह्रै नमज्जा भयो। यसको केही समयपछि उनले दुबई जान आवेदन दिए, मिलेन।
अब चाहिँ के गर्ने? दीपक तनावमा परे।
अनि काठमाडौंको सानो गौचरणमा बसिरहेकी दिदी नितु शाहीकहाँ पुगे। नितु मेकअप आर्टिस्ट हुन्। उनका श्रीमान भारतीय नागरिक प्रदीप राजपुत हेयर आर्टिस्ट। यो जोडीले राम्रै कमाइ गरिरहेको थियो।
दिदीलाई दीपकले आफ्नो अवस्था बताए र विदेश जान पैसा सापट मागे।
नितुले दीपकलाई सोधिन्– यो पैसा त दुई-चार वर्षमा कमाएर मलाई फर्काउलास्। तर फर्केपछि के गर्छस्?
दीपक सोच्न बाध्य भए। उनले बरू दिदीभिनाजुकै जस्तो काम गर्ने निधो गरे।
यसपछि नितुले दीपकलाई भारतको बैंगलोर लगिन्। त्यहाँ एउटा डमी, स्ट्यान्ड र कैंची हातमा थमाइदिँदै भनिन्, 'अब तेरो भविष्य यही हो। रातदिन यसैमा घोटिएर आफ्नो करिअर बनाउनतिर लाग्।'
कपाल काट्न जीवनमै कहिल्यै कैंची नसमाएका दीपकलाई डमीको कपाल मिलाउन धेरै गाह्रो भयो।
उनले सम्झिए, 'तीन महिनासम्म डमीमै कपाल काट्ने, रंगाउने र मिलाउने काम सिकेँ।'
त्यो एउटा प्रयोगात्मक कक्षा थियो। दीपकका शिक्षकले उनलाई पास भएको घोषणा गरिदिए। त्यसपछि उनी अन्तर्वार्ताका लागि पठाइए। त्यसमा पनि सफल भएपछि उनले औपचारिक रूपमा काम थाले।
तर त्यहाँ दीपकभन्दा धेरै अनुभवी र पुराना कर्मचारी थिए। त्यसैले उनलाई बैंगलोरमा आफ्नो भविष्य बन्ला जस्तो लागेन, 'सिनियरले मात्रै काम पाउँथे। जुनियरले सीप निखार्ने मौकै कम पाउने!'
दीपकले यो कुरा दिदीलाई भने। नितुले पनि आफ्नो सम्पर्क रहेको अर्को सैलुनमा काम गर्न भन्दै दीपकलाई राजस्थान पठाइदिइन्। त्यो सैलुन ठूलो थियो। दीपकका अनुसार त्यहाँ धेरै मोडल र कलाकार पनि आउँथे। उनले त्यहाँ अझै काम सिक्ने र जान्ने अवसर पाए।
त्यहाँ दुई वर्ष काम गरेपछि भने उनी नेपाल फर्किए। आएर काठमाडौंका सैलुनमा काम थाले।
'सुरूमा डिभाइन र पछि भोल्युम सैलुनमा काम गरेँ,' उनले भने, 'त्यहाँ पनि नेपाली सेलेब्रेटी र मोडलहरू आइरहन्थे। धेरै सेलेब्रेटीको कपाल काट्ने-रंगाउने अवसर पाएँ।'
दीपक काठमाडौंमा काम गर्दादेखि नै टिकटक भिडिओ बनाइरहेका हुन्थे।
'भिडिओ हेरेरै नेपालगञ्ज, धनगढी, बागलुङ, इटहरीजस्ता ठाउँबाट पनि कपाल बनाउन आउँथे,' उनले भने।
काठमाडौंमा उनको काम राम्रै भइरहेको थियो। गत वर्ष उनका बुवा एकाएक गम्भीर बिरामी भए। बुवाको उपचारका लागि दीपक तुलसीपुर आए। तर बुवाको निधन भयो।
'त्यसपछि मलाई घर छाडेर कहीँ जान मन लागेन। यहीँ काम थालेँ,' उनले भने।
यसरी उनले लोकप्रिय सैलुनमा काम थालेका हुन्।
'पहिला त बुवाले छोरो कपाल काट्ने भएछ भन्नु हुन्थ्यो,' दीपकले भने, 'तर पछि उहाँ खुसी हुनुभएको थियो। आमा र श्रीमती त सधैं खुसी।'
उनकी श्रीमती पनि हेयर र मेकअप आर्टिस्ट हुन्। दिदी नितुले मेकअप र आफूले कपालको काम सिकाएको उनले जानकारी दिए। उनीहरू काठमाडौंदेखि नै सँगै काम गर्न थालेका हुन्। तर अहिले बच्चा सानै भएकाले बिदामा रहेको पनि दीपकले बताए।
दीपकले अब आफ्नो करिअर सैलुन व्यवसायमै बनाउने सोचेका छन्।
'पहिले यो काममा भारतीय र मधेसी मूलका मान्छे मात्र संलग्न थिए। अहिले यहाँका स्थानीय नै सैलुन व्यवसायमा छन्। अनि अरू समुदायका मान्छे पनि बराबरी रूपमा यो काम गरिरहेका छन्। यो धेरै राम्रो कुरा हो। यो व्यवसायले धेरैलाई आफ्नै घरगाउँमा रोजगारी दिएको छ।'