डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ।
सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको बताइएको छ।
सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ।
इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्सफर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर, डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा लिन सकिने छ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।