कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ। विगतमा निर्वाहमूखी कृषि गर्दै आएका किसानहरूले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रा पाल्न थालेपछि व्यावसायिकता विकास भएको हो।
गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका किसानले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन्।
संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोग लगायतका कार्यक्रम ल्याएपछि किसानहरू उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन्।
गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रूपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ। यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ। संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ।
यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए।
त्यस्तै प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ।
नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ। मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरे पनि ठूला कृषकहरुले आफैं बजार खोज्ने गरेका छन्।
गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा बिक्री भएको बताइन्छ।
पशुशाखा प्रमुख पौडेलले भने, 'हाम्रो गाउँपालिका दूधको हब बन्दै गएको छ। गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन्। अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ। सहकारीबाट दूध बिक्री गर्ने कृषकहरु बढी छन्।'
गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ।
लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ। वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ। रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्यांक छ।
त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ। समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक सात लाख ३५ हजार तथा मासिक दुई करोड २० लाख रूपैयाँ हाराहारीमा आम्दानी गर्ने गरेको जनाइएको छ।
सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मूल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन्।
उनले भने, 'गाईभैंसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन्। वर्सेनि मूल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो।'
लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैंसीफार्म सुरू गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा सुरू भएको थियो। गुरुङको फार्ममा अहिले ३०० भैंसी छन्। विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए।
व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन्।
उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैंसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैंसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ।
उनले भनिन्, 'हाम्रो गाउँपालिका पशुपालनमा समृद्ध बन्दै जिल्लामै दूध उत्पादनमा अग्रणी छ। हाम्रो तर्फबाट समेत कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोगको नीति लिएका छौं।' रासस