जलमग्न भएर तीन दिनदेखि अवरूद्ध विराटनगर विमानस्थल शनिबार अघि सुचारु हुन नसक्ने भएको छ।
विमानस्थलमा जमेको पानी अझै बाहिरिनसकेका कारण विमानस्थल अवरूद्ध नै भएको हो।
विराटनगर विमानस्थल प्रमुख उत्सव पोखरेलले दिएको जानकारी अनुसार बिहीबार साँझ बुद्ध र श्री एयरका दुइटा खाली जहाज काठमाडौं पठाउने तयारी भइरहेको छ।
‘अहिले पनि पूर्ण रूपले पानी सुकेको छैन’, उनले भने, ‘त्यसैले अहिले यहाँ रहेका दुइटा विमान खाली नै काठमाडौं पठाउने तयारी भएको छ। यदि मौसम सफा रह्यो भने शनिबारबाट विमानस्थल खुल्न सक्छ।’
बुधबार बिहानदेखि पानी रोकिएको र बिहीबार घाम लागेका कारण पानी सुक्न थालेको छ। तर, विमानस्थलको सबैतिर जमेको पानी पूरै सुकेको भने छैन।