पछिल्लो समय आयातसँगै निर्यात पनि बढेको छ।
चालू आर्थिक वर्ष २०७८/२०७९ को साउनदेखि असोजसम्ममा ६५ अर्ब ५ करोड रूपैयाँ बराबरको वस्तु छिमेकी मुलुकमा निर्यात भएको छ। यो गत आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिको तुलनामा १ सय ९ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्ष साउनदेखि असोजसम्म ३१ अर्ब ४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
त्यस्तै, आयात पनि चालू आवको तीन महिनामा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६४ प्रतिशतले बढी हो।
गत आवको पहिलो तीन महिनामा २ खर्ब ९२ अर्ब २६ करोड रूपैँया बराबरको वस्तु आयात भएको विभागको तथ्यांकले देखाएको छ।
साउनदेखि असोजसम्म नेपालको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५८.२८ प्रतिशत बढी हो।
गत आवको सोही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ थियो।
तीन महिनामा कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ छ। जसमा आयातको हिस्सा ८८.०३ प्रतिशत र निर्यातको हिस्सा ११.९७ प्रतिशत छ।