तत्कालीन राणा शासकहरूले विदेशीको सिको गर्दै जर्मनीबाट सोडा मेसिन भित्र्याएका थिए। उक्त मेसिनमा उनीहरू रक्सी लगायत पेय पदार्थ सोडामा मिसाएर पिउने गर्थे। दरबारका रात्रिभोजहरूमा सोडा अनिवार्यजस्तै बन्दै गयो।
बिस्तारै राणाहरूले नजिकका भारदार वा नातेदारलाई सोडा मेसिन उपहार दिन थाले। त्यही क्रममा एक जना सुबेदारको घरमा त्यो मिसिन भित्रियो।
त्यही सुबेदारको घरमा काम गर्थे, बुद्धिराज सुवाल।
आफू ठिकठाक सोडा बनाउने सुबेदारले बुद्धिराजलाई पनि सोडा बनाउन सिकाए। बुद्धिराजले बनाउने सोडा कडा र मीठो हुन्थ्यो। त्यसबाट प्रभावित भएर एकदिन ती सुबेदारले आफूले उपहार पाएको मेसिन दिँदै भने, 'तिमी मभन्दा राम्रो सोडा बनाउँछौ। त्यसैले यो मेसिन तिमीलाई नै उपहार भयो। बरू यसको बदलामा तिमी हरेक महिना गुरूदक्षिणाका रूपमा मलाई केही पैसा दिनू।'
त्यति बेलासम्म बुद्धिराजले सोडा खाँदा मीठो हुन्छ र स्वास्थ्यलाई पनि फाइदा गर्छ भन्ने बुझिसकेका थिए।
उनले त्यो मेसिनबाट सोडा व्यवसाय थाल्ने विचार गरे।
यो २००३ सालतिरको कुरा हो। बुद्धिराजले न्यूरोडको विशाल बजारस्थित पहिले जनसेवा हल भएको ठाउँमा सानो पसल भाडामा लिए र सोडा व्यवसाय सुरू गरे।
व्यवसाय ठिकठाक चल्दै थियो, त्यसैबीच २०१९ सालको आन्दोलन क्रममा जनताले जनसेवा हल जलाइदिए। बुद्धिराज मेसिन बोकेर भूगोलपार्क पुगे। त्यहाँको सार्वजनिक ठाउँमा केही कुर्सी राखेर उनले पसल चलाए।
न्यूरोडमा रञ्जना हल खुलेपछि त्यहाँ फिल्म हेर्नेहरूको चहलपहल बढ्न थाल्यो। त्यो चहलपहलबीच सोडा व्यवसाय चकाचक हुने देखेर बुद्धिराज भूगोलपार्कबाट रञ्जना हलतिर सरे र हलअगाडि सानो छिँडीमा सोडा बेच्न थाले।
अहिले रञ्जना हल छैन तर त्यो ठाउँलाई मान्छेहरू रञ्जना हल भनेरै चिन्छन्।
बुद्धिराजको सोडा पसल पनि नयाँ घरमा सरिसक्यो तर मान्छेहरू अहिले पनि 'रञ्जनाको सोडा पसल' नै भन्छन्।
परिवेश फेरिए पनि धेरैलाई रञ्जना हलमा फिल्म हेरेर फर्कंदा बुद्धिराजको पसलमा सोडा खाएको सम्झना ताजै छ। त्यही सम्झना बाँड्दै फोटो पत्रकार विकास रौनियारले केही दिनअघि ट्वीट गरेका थिए, 'सन् १९८० को अन्तिमतिर हरेक शनिबार हलमा फिल्म हेरेपछि रञ्जनामा हामी गुच्चा सोडा र आरसी मोमो खान्थ्यौं।'
बुद्धिराजले रञ्जना हलनिर सोडा पसल सार्दा उनका छोरा सुरेश छ वर्षका थिए। त्यति बेलै उनलाई लाग्थ्यो, 'ओहो! बुवाले त खत्रा काम गर्नुहुन्छ।'
बुवाको काम देखेर सुरेशलाई सानैदेखि सोडामा चासो बढेको थियो। हुर्कंदै जाँदा उनी र उनका भाइ नरेशले आफ्ना बुवाबाटै सोडा बनाउन सिके।
२०२३ सालदेखि बुवालाई सघाउन थालेका सुरेश २०४१ सालमा आएर पूरै पसल चलाउन सक्ने भए। उमेर र कामले गल्दै गएका बुवालाई उनले काउन्टरमा राखे। दस कक्षा पढ्दै गर्दा उनकी आमा बितिन्, त्यसपछि त सुरेश पढाइ छाडेर सधैंका लागि सोडा व्यवसायतर्फ मोडिए।
अलिअलि रसायनको ज्ञान भएका उनलाई बायोकेमिकल पढ्ने रहर थियो। तर आमाको निधनपछि वृद्ध बुवा र परिवारको जिम्मेवारी काँधमा आयो। उनले चित्त बुझाए, 'पढे पनि अन्तिममा पैसा नै कमाउने हो, काम गरे पनि पैसा नै कमाउने हो।'
सुरेशले आफ्नो पूरा समय बाबुको सोडा व्यवसायलाई निरन्तरता दिनमा लगाए।
रञ्जनाको सोडा पसल प्रख्यात बन्दै गयो।
व्यापार फस्टाउँदै गएपछि मान्छेले भीड बढ्यो भन्दै उनको पसललाई एकठाउँ टिक्न दिएनन्। सुरेशले ३०-३२ वर्ष रञ्जनाकै कहिले यो गल्ली, कहिले त्यो गल्ली चहार्दै सोडा व्यवसाय जारी राखे।
बिरालोले बच्चा सारेझैं पसल सार्दै हिँड्दा दिक्दार सुरेश हरेक दिन भगवानसँग एउटै प्रार्थना गर्थे, 'सधैंका लागि हुने एउटा ठाउँ मिलोस् प्रभु।'
२०६९ सालमा उनको प्रार्थना सुनुवाइ भयो। रञ्जना हलको मूलगेटबाट न्यूरोड जोडिने सडकभन्दा अलिकति भित्र खुला आँगन भएको ठाउँमा उनले सानो फ्याक्ट्रीसहित पसल बनाए। यहाँ सरेपछि पहिलेका समस्याबाट पार पाएको उनी बताउँछन्।
सुरूमा यहाँ जम्मा तीनवटा स्वादका सोडा पाइन्थे – अनार, कागती र सुन्तला। एकदिन असनको एउटा एजेन्सीले उनका बुवा बुद्धिराजलाई भनेछन्, 'कोला एकदम मीठो छ तर नेपालमा छैन। तिमीहरू सोडामा कोला मिसाएर बेच्नू।'
नभन्दै सोडामा मिसाइएको कोला छोटो समयमै सहरको 'हटकेक' भयो। त्यसपछि बिस्तारै सुरेशले खरबुजा, स्ट्रबेरी लगायत विभिन्न स्वादका कोला थप्दै लगे।
सुरेशको एउटा राम्रो बानी के भने, व्यापार-व्यवसायको औपचारिक अध्ययन नगरे पनि उनको नाकले फाइदा हुने क्षेत्र चाँडै सुँघ्छ। के गर्दा व्यापार उक्सिन्छ भनी अनुमान लगाउने उनको 'सिक्स्थ सेन्स' निकै तगडा छ। यही 'सिक्स्थ सेन्स' ले हो, एकचोटि भारतको दिल्ली घुम्न जाँदा सुरेशले फ्रुट बियर बेचिरहेको देखे। त्यो बियर चाख्दा उनलाई एकदमै मीठो लाग्यो। त्यसको सोडा बनाउन पाए हुन्थ्यो भन्ने उनले सोचे।
काठमाडौं फर्किएपछि उनले आफ्नो एजेन्सीमार्फत त्यसको स्वाद अर्डर गरे। एजेन्सीले भारतका विभिन्न ठाउँमा बुझ्दा त्यो स्वाद कश्मीरमा पाइन्छ भन्ने थाहा भयो। उनले त्यहीँबाट अर्डर गरेर ल्याए। अहिले उनी दुई दर्जनभन्दा बढी स्वादका सोडा बेच्छन्। छिट्टै अस्ट्रेलियाबाट आरू र लिचीको स्वाद मगाउँदैछन्।
सुरेशले दुई पैसाबाट सोडा बेच्न थालेका हुन्। अहिले यहाँ सबभन्दा सस्तो सोडाको मोल २० रूपैयाँ पर्छ। महँगोमा १३० रूपैयाँसम्म पर्ने मोक्टेल पाइन्छ।
सामान्य रूपमा भन्दा सोडा भनेको ग्यास र पानीको मिश्रणबाट बन्ने पेयपदार्थ हो। सुरेशका अनुसार यस्तो पेय खानुका फाइदा छन्, 'यसले खाना पचाउन मद्दत गर्छ। ग्यास्ट्रिकबाट राहत दिन्छ। टाउको भारी हुँदा सोडा खायो भने हल्का महशुस हुन्छ। ह्यांग हटाउन सोडामा मसलाहरू मिसाएर थप कागती हालिन्छ।'
उनले अगाडि भने, 'पहिला मेरो ग्यास्ट्रिकको समस्या थियो। काम गर्दागर्दा बिहानको खाना दिउँसो दुई-तीन बजे मात्र खाइन्थ्यो। यसले ग्यास्ट्रिक बढेर साह्रै दु:ख दिन्थ्यो। सोडा खाएपछि बल्ल म केही राहत महशुस गर्थेँ।'
बाबुले सुरू गरेको व्यवसायलाई यहाँसम्म ल्याउनमा सुरेशले अथक मिहिनेत गरेका छन्। पहिले गरेका दुःखले उनलाई सजिलो पनि भएको छ। उनका भाइहरू अहिले पनि बाहिर मुख्य सडककै पसलमा सोडा बेच्छन्। भित्रको पसलमा सघाउने उनका कान्छा छोरा सुमेरू छन्। ठूलो छोरा भने ललितकला क्याम्पसमा मूर्तिकला पढ्दै छन्।
नाम कमाउन गाह्रो हुने बुझेका सुरेश आफ्ना छोराहरूलाई पनि यो व्यवसाय धान्न सल्लाह दिन्छन्।
रञ्जना सोडा पसलका तेस्रो पुस्ता सुमेरूले यहाँ काम गरेको १४ वर्ष भयो। आफ्नो अनुभवका आधारमा उनी भन्छन्, 'यो काममा एकदम धेरै मिहिनेत गर्नुपर्छ। बुवा र हजुरबुवा पुस्ताले धेरै दुःख गर्नुभएकाले हामीले त्यति दुःख झेल्नुपरेन। नभए सुरूको चरणदेखि काम गर्नुपरेको भए निकै गाह्रो हुन्थ्यो।'
गर्मीमा दिनको दुई–तीन हजार सोडा बिक्ने यो पसलमा जाडोमा त्यति व्यापार हुँदैन। बरू त्यो बेला धेरै मान्छे रक्सीको ह्यांग भगाउन सोडा खान आउँछन्।
सुरेशले यो पसल चलाउने क्रममै २०३९ सालमा खाद्य अनुसन्धानको तालिम लिएका थिए। दसदिने तालिममा उनले स्वस्थकर कारखाना कसरी सञ्चालन गर्ने भन्ने सिके। उनलाई भविष्यमा सहरबाहिर ठूलो कारखाना खोल्ने धोको छ।
एकचोटि उनको पसलमा खाद्य अनुसन्धान टोली अनुगमन गर्न आएको थियो। उनले प्रयोग गर्ने विभिन्न सामग्रीबारे सोधपुछ गरेपछि सुरेश आफैंले सोडाको प्रयोगशाला परीक्षण गर्न सुझाएका थिए। तर ग्यास भएको खानेकुराको किटाणु आफैं मर्ने भएकाले परीक्षण गर्न पर्दैन भन्दै उनीहरू फर्किए।
सुरेशलाई भने आफूहरूले सोडा बनाउने सम्पूर्ण विधि परीक्षण गरेर खाद्य अनुसन्धानले रिपोर्ट दिएको भए 'सोडा स्वस्थकर छ' भनेर भनिरहनै पर्थेन भन्ने लाग्छ।
कुनै समय बिहानदेखि आधा रातसम्म खटेर काम गरेका उनी अहिले बिहान ८ देखि बेलुकी ८ बजेसम्म पसल चलाउँछन्। उनी जति आफ्नो काममा दत्तचित्त छन्, मान्छेको स्वास्थ्यप्रति उत्तिकै सजग छन्। ग्यास कम्पनीले कुनै बेला नराम्रो ग्यास पठाए मान्छेको जिन्दगीको सवाल हुने भएकाले उनी धेरैपटक ग्यास कारखाना निरीक्षण गर्न पुगेका छन्। केही भइहाले जिम्मेवार हुन चेतावनी पनि दिएका छन्।
सुरेश आफूलाई चाहिने ग्यास बालाजुको शंकर ग्यास उद्योगबाट ल्याइरहेका छन्। ग्यासलाई फुड ग्रेडिङमा परिणत गरेर खानयोग्य बनाइएको हुन्छ। उनी अहिले अक्सिजेनेटेड सोडा बनाउने प्रयासमा छन्। टाउको दुख्दा, ह्यांग हुँदा यस्तो ग्यासले आराम दिने उनी बताउँछन्।
'म यसबारे अध्ययन गर्दैछु। खाएपछि कत्तिको असर गर्छ भनेर जान्न पहिले आफैं पिउँछु,' उनले भने, 'त्यसबारे कम्पनीसँग पनि कुरा गरिरहेको छु। अक्सिजन चाहियो भनेर भनिरहेको छु।'
यसरी फुर्सदको समय सोडामा प्रयोग हुने विभिन्न सामग्रीको गुणस्तर परीक्षण गर्न मन पराउने सुरेशलाई कुनै समय मेसिनबारे सिक्न मन थियो। यही इच्छाले तानिएर उनी एक पाका मेकानिक्सकहाँ पुगेका थिए। तर उनले सिकाउन खोजेनन्। पछि उनले अरूसँग त्यसबारे अनुभव बटुले। आफ्नो पसल भने सबैका लागि खुला पाठशाला भएको उनी बताउँछन्।
'अरूलाई सिकाए, बुझाए न आफूलाई अरूले सम्झन्छन्,' उनले भने।
पहिले यो पसलमा मान्छेले आफैं चलाउनुपर्ने 'म्यानुअल' मेसिन थियो। हातले आफैं पम्प गरी पानी तानेर ट्यांकी भरेपछि ग्यास अन गरिन्थ्यो। त्यसपछि पानी र ग्यासलाई दुई-तीन सय राउन्ड घुमाएर घोल्नुपर्थ्यो। अहिले अर्धस्वचालित मेसिन आएको छ। पानी र ग्यास आफैं घोलिन्छ, भर्न मात्र मान्छे चाहिन्छ।
'पुरानो मेसिनबारे मलाई बढी ज्ञान छ, नयाँबारे छोरालाई,' उनले भने, 'घरमा भएको पुरानो मेसिन जाडोको फुर्सदमा बनाउने सोचेको छु। त्यसलाई पछि महत्वपूर्ण वस्तुका रूपमा सजाएर राख्नेछु।'
भविष्यमा सुरेशले पूर्ण स्वचालित मेसिन ल्याउने सोचेका छन् जसको लागत करिब साढे तीन करोड रूपैयाँ पर्छ। यति धेरै लगानी गरेर नयाँ मेसिन ल्याइहाल्न हिम्मत नआएको उनी बताउँछन्।
सोडा बनाउँदाका चुनौती पनि छन्। ग्यासको मात्रा धेरै भए बोतल फुट्छ। सुरू सुरूमा नयाँ प्रणालीमा अभ्यस्त नभएकाले बोतल फुटेर धेरै ठाउँ घाउ भएको उनले अनुभव गरेका छन्। पहिलेको तुलनामा अहिलेका बोतल कमजोर भएकाले पनि बढी फुट्ने गरेको उनी बताउँछन्।
त्यसबाहेक पानी र ग्यासको गुणस्तर खस्कँदै गएकाले स्वादमा असर पुगिरहेको छ। उनी अचेल फिल्टरको पानीबाट सोडा बनाउँछन्। मुहानको पानी फिल्टर गरेर बनाउँदा मिठो हुने उनको भनाइ छ।
ठाउँठाउँमा बग्रेल्ती खुलेका सोडा पसल र कोक लगायत पेय पदार्थ पनि उनका लागि चुनौती हुन्। कतिले त रञ्जनाबाट ल्याएको सोडा भन्दै बजारमा बेच्छन्, उनले भने, 'मान्छेलाई गर्मी हुन्छ, खाइहाल्छन्। पछि हामीलाई फलानो ठाउँमा खाएको सोडा त मीठो थिएन भन्छन्। हामीले त त्यहाँ बेचेकै छैनौं भन्दा अलमलमा पर्छन्।'
त्यही अलमल फुकाउन सुरेशले आफ्नो सोडा पसलको लोगो बनाउने विचार गरेका छन्। व्यस्तताका कारण उनको योजना पर धकेलिएको धेरै भइसक्यो।
'यत्रो वर्षमा कमाएको नाम बिग्रेला भनेर म सजग छु। अरू साथीहरूले पनि कम्पनीको लोगो बनाउनुपर्यो भनेर दबाब दिइरहनुभएको छ। त्यसका लागि छिट्टै फुर्सद निकाल्नुपर्नेछ,' उनले भने।
रञ्जना सोडाको यही पुरानो नाम सम्झँदै कुनै समय हजुरबुवाको हात समाएर आएका नातिहरू ठूलो भएपछि पनि यो ठाउँ खोज्दै आउने सुरेशले बताए, 'त्यस्तो मान्छे देख्दा खुसी लाग्छ। कहिलेकाहीँ किन आए होलान् भनेर सोच्छु। राम्रो भएर त आए होलान् नि है?'
तेस्रो पुस्तासम्म आइपुग्दा रञ्जनाको सोडा पसल फैलिन थालेको छ। सुमेरूकी पत्नीले व्यवसाय विस्तार गर्दै बिजेश्वरीमा नयाँ सोडा पसल सुरू गरेकी छन्। सबै ठाउँमा पसल राख्न सम्भव नभएकाले भक्तपुर, कीर्तिपुर, पाटन लगायत विभिन्न ठाउँका २३ वटा पसल र क्याफेमा यहाँको सोडा बिक्री गरिन्छ।
सुरेशका अनुसार एकपटक बनाएको सोडा घाम परेन भने दुई महिनासम्म खान सकिन्छ। तर स्वाद बिग्रेला भनेर १५ दिनभन्दा बढी नबेच्न उनले सबै पसल र क्याफे सञ्चालकहरूलाई भनेका छन्।
बुवाको पालादेखि सोडाले दिएको नाम र पहिचान संगालेका सुरेश यसले दिएको खुसी साट्दै भन्छन्, 'रञ्जना सोडाले मलाई बाटो देखायो। त्यसले दिएको नाम र पहिचान जोगाइराख्न म गुणस्तरमा ध्यान पुर्याइरहनेछु। नाम कमाउन निकै गाह्रो छ तर त्यसलाई गुमाउन एकै क्षण काफी छ भन्ने मैले बुझेको छु।'
सबै तस्बिर र भिडिओ: सुसन चौधरी/सेतोपाटी