स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ। स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो। भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिरी जिल्लाका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरू बताउँछन्।
खुकुरीले नै ख्याति कमाएको जिल्लामा हाल दक्ष कालिगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ। भोजपुरे, सिरुपाते, चित्लाङले कोथीमोडालगायत खुकुरी बनाउने गरिएकामा यस पेशालाई अपहेलनाको रुपमा हेरिने गरिएका कारण पनि सङ्कटमा परेको उनीहरूको गुनासो छ।
यस्ता खुकरी विश्व बजारमा समेत प्रख्यात छ। यी खुकुरीको माग धेरै हुने गरेको छ। विगतका वर्षमा धेरै कालिगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्नेको सङ्ख्या न्यून हुँदैगएको छ। बढी मेहनत गर्नुपर्नाका साथै व्यवसाका लागि आवश्यक कच्चापदार्थ अभाव र नयाँ पुस्तामा यसप्रति मोह नभएकाले यो पेशा सङ्कटमा पर्दै गएको कालिगढ हर्कबहादुर विश्वकर्माले बताए।
‘यो पेशा सङ्कटमा पर्नाको मुख्य कारण पुस्तान्तरण गर्न सकिएको छैन। नयाँ पुस्ताले यो पेशालाई निरन्तरता दिन छाडेको अवस्था छ। यस्तै अवस्था हो भने अलिक समयपछि कालिगढ पाउन मुस्किल पर्छ,’ उनले भने।
यो पेशालाई लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्नेमा जोडदिँदै कालिगढ विश्वकर्माले भने, ‘मैले ४० वर्षदेखि यहीँ पेशा अपनाइरहेको छु। यतिका समयसम्म यही पेशा गर्दा पनि मलाई सँधै नै आर्थिक समस्या हुन्छ। राज्यका तर्फबाट मैले खास केही सुविधा पाएको छैन। मिहेनत बढी गर्नुपर्छ। आम्दानी कम छ। राज्यको सहयोग छैन। त्यसैले पछिल्ला पुस्ताले यो पेशा रुचाउन छाडेका हुन्।’
स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको अर्का कालिगढ प्रेमकुमार लुवारले गुनासो गरे। व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाइने कच्चा पदार्थसमेत अभाव रहेको उनको भनाइ छ।
‘राज्यका तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौं। हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ। दैनिक कामकाजका लागि चाहिने, कोइला, बिँड तथा दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ। सामुदायिक वनबाट सहजरूपमा काठ ल्याउन सकिने अवस्था छैन। हामीले उत्पादन गरेका खुकुरीले पनि मेहनतअनुसारको मूल्य पाउन सकेको छैन। बिचौलियाको मारमा हामी उत्पादक परेका छौ। सरकारले यसतर्फ पनि ध्यान दिन आवश्यक छ,’ लुवारले भने, ‘मेहनतअनुसारको आम्दानी लिन पनि समस्या हुने भएकाले पनि यस पेशामा लाग्नेको सङ्ख्या घट्दै गएकाले स्थानीय सरकार तथा सरोकारकावाला पक्षले संरक्षणमा ध्यान नदिएमा पेशा नै लोप हुनसक्छ।’
‘यस पेशामा धेरै दुःख छ। अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ। कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने उपकरण खरिदमा केही सहयोग गरिदिए राहत मिल्ने थियो। अहिलेसम्म राज्यले हामीलाई प्रोत्साहन गरेजस्तो लाग्दैन। त्यहीँ भएर पनि धेरैले त पेशा नै छाडिसके,’ उनले भने, ‘पेशाको संरक्षण अहिलेको आवश्यकता हो। राज्यले त्यो वातावरण बनाइदिनुपर्यो तर अहिलेसम्म प्रोत्साहन पाइएको छैन। काम गर्न कठिन छ। मेहनत अनुसारको आम्दानी हुँदैन। यो पेशा गरेर आनन्दले बाच्न सक्ने अवस्था भए लोप हुनबाट जोगाउन सकिन्छ।’
‘हामीले अहिले अनलाइनमार्फत पनि व्यावसाय गरिरहेका छौं। कालिगढसँगै कच्चापदार्थको अभावमा हामीलाई व्यवसाय सञ्चालनमा समस्या छ। त्यसैले मागअनुसारको खुकुरी दिन सकिएको छैन। बजार धान्न समस्या छ,’ स्थानीय खुकुरी व्यापारी हिरालाल श्रेष्ठले भने।
राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा यस्ता व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालकको भनाइ छ। यस पेशालाई बचाइ राख्न तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको खुकुरी व्यवसायी बताउँछन्। पेशालाई जोगाइ राख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको सुझाव छ।
विदेश जाने लहरले गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन बन्द हुँदा यतिबेला गाउँघरकाले पनि सदरमुकामबाटै खुकुरी किन्ने गरेको व्यवसायीहरूको भनाइ छ। ‘स्थानीयस्तरमै खुकुरीको माग बढी छ। गाउँघरमा परम्परागत रुपमा गरिने पेशा धेरैले छाडिसके। सदरमुकाममा उत्पादन भएका खुकुरी धेरैजसो गाउँतिरै जान्छ। बाहिरबाट आउने माग पनि पूरा गर्न सकिएको छैन्। यही अवस्था रहेमा यो पेशालाई पुस्तान्तरण गर्न समस्या छ,’ व्यवसायी श्रेष्ठले भने।