साठी वर्षअघिको कुरा हो।
भारत, बिहारबाट एउटा परिवार झिसमिसेमै घरबाट नेपाल हिँड्यो। हिँड्दै अमलेखगञ्ज पुग्यो र रेल पक्डियो। भिमफेदीको बाटो हुँदै कुलेखानीसम्म आयो। त्यति बेलासम्म रात झपक्क परिसकेको थियो।
कुलेखानीमा उनीहरूले चिनेजानेका एक जना मान्छेको होटल थियो। त्यो रात उनीहरू त्यहीँ बास बसे। अनि अर्को झिसमिसेमा काठमाडौं हिँडे।
उनीहरूले भविष्य सोचेर हिँडेका पाइला त्यही सहरतर्फ केन्द्रित थियो।
त्यति बेला दस वर्षका थिए रमाकान्त ठाकुर। बाजे र बुवाका पाइला पछ्याउँदै हिँड्दाका क्षण उनी अझै सम्झिन्छन्। अहिले त उनी आफैं बाजे उमेरका भइसके, ७० वर्ष। तीन छोरी र दुई छोराका बुवा उनका नाति–नातिना पनि भइसके।
'त्यो बेला सानो गाडी थानकोटबाट हनुमानढोकासम्म आउँथ्यो। दस–पन्ध्र पैसा भाडा लाग्थ्यो,' पुराना दिन सम्झिँदै उनले भने।
बिहारबाट काठमाडौं हिँड्दा ठाकुर परिवारले केही लुगाफाटा, खाना पकाउने सामग्री र अलिकति पैसा बोकेका थिए। यहाँ आएपछि उनीहरूले वटुमा कोठा भाडा लिए।
उनीहरूले जानेको पेसा थियो, नाउ वा नाइ। त्यही काम गरे। जीविकोपार्जनका लागि कपाल, दाह्री तथा नङ काट्ने पेसा गर्ने मानिसलाई ठाउँअनुसार हजाम, नाउ, नाइ भनिन्छ।
नेपालमा नाउ कसरी र कहिले आए भन्ने यकिन जानकारी छैन। तर कर्नाटवंशी राजाहरू शरणार्थीका रूपमा काठमाडौं उपत्यकामा आएर बसोबास गर्न थालेपछि उनीहरूसँगै नाउहरू पनि नेपाल आएको भनाइ छ।
'त्यो बेला बाजेले आफ्नो पुर्ख्यौली काम सिकाउन भन्दै मलाई काठमाडौं ल्याउनुभएको थियो,' रमाकान्तले भने।
उमेरले सानो भए पनि बाजे–बुवाले गरेको काम हेर्दै उनले विस्तारै सिके। त्यो समय उनीहरूले भेडासिंस्थित महादेव मन्दिर परिसरमा नाइको काम थाले। रमाकान्तका बाजे–बुवा, काका, छिमेकी लगायत गरेर त्यहाँ सात–आठ जनाको टोली थियो।
विस्तारै कपाल काट्ने मान्छेहरूको चहलपहल बढ्न थाल्यो। कालान्तरमा मान्छेले महादेव मन्दिरभन्दा बढी नाउदेग: भनेर यो ठाउँलाई चिन्न थाले। भेडासिंबाहेक त्यो बेला नरदेवी, ठमेल, डिल्लीबजार र क्षेत्रपाटीमा नाउहरू बस्थे। एक–दुइटा मात्र कपाल काट्ने आधुनिक पसल न्यूरोड आसपास खुलेका थिए।
'तर मान्छे पसलमा भन्दा हाम्राजस्ता फाटफुट ठाउँमै बढी हुन्थे,' रमाकान्तले भने, 'अहिले त गल्ली-गल्लीमा पसल भइसक्यो। तराईका मान्छे पनि काठमाडौं आइसके। पहाडका पनि। अब फाटफुटको कुनै भ्यालु छैन। पहिलाजस्तो मान्छे हामीकहाँ आउँदैनन्।'
उनी सडककै छेउछाउ ग्राहक कुरेर बस्छन्। केही मान्छे अझै पनि उनैलाई खोज्दै भेडासिं आउँछन्। यहाँ उनले कपाल काटिदिने मात्र होइन, दाह्री मिलाइदिने र नङ काटिदिने काम पनि गर्छन्। धेरै त पुरूष नै आउँछन्, कहिलेकाहीँ पाका महिलाहरू हात–खुट्टाका मोटामोटा नङ काट्न नसक्दा उनलाई नै सम्झेर आउँछन्।
रमाकान्त कहिलेकाहीँ मात्र काम हेरेर आफ्ना ग्राहकसँग पैसा माग्छन्। नभए उनीहरूले नै मन लागेको पैसा तिर्छन्। यहाँ आउने ग्राहकबाहेक उनलाई घरैमा बोलाउनेहरू पनि हुन्छन्। कसैको व्रतबन्ध छ वा कोही बितेको छ भने दस दिनको काममा घर बोलाउँछन्। नङ काट्न घरै बोलाउनेहरू पनि धेरै छन्।
एउटा समय यस्तो थियो, रमाकान्तको परिवारले काटेको कपालका रौं लिन किसानहरूको हानाथाप पर्थ्यो। रमाकान्तका अनुसार उनीहरू आफ्नो तरकारी बारीमा मलका रूपमा प्रयोग गर्न रौंहरू उठाएर लग्थे।
त्यो बेला डल्लू, शोभाभगवतीमा ज्यापूहरूको खेतैखेत थियो। खेतका लागि बर्सेनि रौं लगेबापत दुई पाथी खुर्सानी, आलु र लसुन दिन्थे।
रमाकान्तका बाजे कपाल काट्न नारायणथानसम्म हिँडेर जान्थे। त्यहाँको खड्का, खत्री गाउँमा कपाल काटेबापत उनलाई वर्षको दुई पाथी मकै, धान र चाडबाड बेला मासु, सुकुटी लगायत दिएर पठाइन्थ्यो। अहिले यो सबै अनुभव एकादेशको कथा भइसक्यो।
'जबदेखि देसी मल आयो, ज्यापूहरूले कपाल लग्न छाडे। ठाउँठाउँमा कपाल काट्ने पसल खुलेपछि यहाँदेखि नारायणथानसम्म पनि बोलाउन छाडे,' रमाकान्तले भने, 'हामीले किसानहरूबाट पाउने तरकारी, अन्न पनि पाउन छाड्यौं।'
छ दशकमा रमाकान्तले आफूले गर्दै आएको काम मात्र होइन, बस्दै आएको काठमाडौं पनि निकै परिवर्तन भएको अनुभव गरेका छन्।
उनको सम्झनामा वटुटोल त सुनसान गल्लीजस्तो थियो। ठमेल जंगल थियो। गाडी पनि थिएनन्। विस्तारै पसलहरू खुले, घरहरू थपिए, बस्ती बस्यो।
वटु वटुजस्तो रहेन, ठमेलको जंगल पनि फाँडियो।
'अहिले मान्छे नै मान्छे, घरैघर भइसक्यो। गाडी पनि धरै भएकाले बाटोमा हिँड्न पनि गाह्रो हुन्छ,' उनले भने।
रमाकान्तको परिवार पनि वटुबाट अहिले सूचीकार गल्लीमा सरिसक्यो। २०३७ सालमा वटुको घरवालाले घर बेचिदिएपछि उनीहरू किलागल सरेका थिए। त्यहाँ ३५ वर्ष बस्दा तीनपटक त जनगणना नै आएको उनलाई सम्झना छ।
यो पटकको जनगणनामा भने उनी त्यो डेरामा हुने छैनन्। केही महिनाअघि त्यो घर पुरानो भएर भत्काइएकाले सूचीकार गल्लीमा सरेका छन्।
हामीले रमाकान्तसँग नाउकै कामबाट परिचित भएको नाउ-देग:बारे पनि बुझ्न खोज्यौं।
पहिला मच्छिन्द्रबहालमा परोपकार केन्द्र थियो। २०२६ सालमा परोपकारले यो देवलका सिँढीहरू भत्काएर पसल बनाउने भनेको थियो। त्यो खबरले नाउहरूलाई आपत परेछ। उनीहरूले नारायणहिटीमा काम गर्ने कमलपोखरीका नाउलाई त्यो खबर पुर्याए। उनलाई बोलाएर नारायणहिटीमा दरखास्त लेखे।
पछि सरकाले निर्णय गर्यो, 'मन्दिर, मस्जिद भत्काउनु हुँदैन।'
त्यसरी यो देवल जोगिएको बताउने रमाकान्तका अनुसार त्यही समय यो मन्दिरमा सिमेन्ट लगाउन सरकारले बजेट छुट्यायो। राजा त्रिभुवनको नाम पनि मन्दिरमा लेखियो। रमाकान्तलाई पनि आफ्नो चिनो मन्दिरमा राख्ने रहर जाग्यो। के सोचेर हो, आफूसँग भएको दुई पैसा उनले काम भइरहेको पर्खालमा टाँसिदिए। भर्खरै लगाइएको सिमेन्टको प्लास्टरमा पैसा राम्ररी टाँसियो। केही पैसा भुइँमुनि पनि उनले गाडे।
अहिले पनि आफूले टाँसेको दुई पैसाबारे आफ्ना ग्राहकलाई उनी सुनाउँछन्। हामीलाई पनि त्यसबारे बताउँदै भने, 'यो २०२२ सालको पैसा हो, राजा त्रिभुवनको समयको। पित्तलले बनेको छ।'
उनले अगाडि थपे, 'यहाँ कपाल काट्ने मान्छे बसेको थियो, उसैले यो पैसा राखेको थियो भन्ने थाहा होस् भनेर चिनो राखेको हुँ।'
२०२६ सालतिरै हो उनले सिंहदरबार र छाउनी ब्यारेकमा सेनाहरूको कपाल काटिदिने काम पाएका थिए। २०३७ सालसम्म काम गरेपछि घरायसी कारणले छाडे।
रमाकान्तका अनुसार काम छाड्ने बेला त्यहाँका मेजरले उनलाई सिपाही बनाइदिने र नेपाली नागरिकता बनाइदिन्छु भनेका थिए। तर ती सबै कुरा त्यागेर उनी यही भेडासिंमा फर्किए।
उनलाई त्यो समय सेनामा पाउने जागिर र नागरिकता सम्झेर अहिले पनि थकथक छैन। नागरिकता भारतकै भएका उनी नेपाली नागरिकता नभएकाले कुनै समस्या पनि नपरेको बताउँछन्।
'नाउ काम गरेर काठमाडौंमा घर बनाउन सकिँदैन। नागरिकता भएर पनि के काम भन्ने मलाई त्यति बेलै लागेको थियो,' उनले भने।
सुरूसुरूमा काठमाडौं आउँदा मान्छेहरूले उनीहरूलाई 'धोती', 'मधेसीया' लगायत सम्बोधन गरेर हेप्थे। त्यो क्रम अहिले निकै कम भएको उनी बताउँछन्।
भारतबाट कामका लागि सानैमा काठमाडौं आएका उनी घुम्न एकपटक एक प्राध्यापकसँग कैलाली र चिसापानी पुगेका छन्। सेनासँग काम गर्दा बाह्रबिसे ब्यारेकमा भोजका लागि ब्यान्ड बाजाको टोलीसँगै गएका थिए। त्यहाँ तातोपानीमा नुहाउँदाको अनुभव पनि संगालेका थिए। त्योबाहेक धेरै ठाउँबारे उनलाई थाहा छैन।
बरू उनका एक छोरा विदेश पनि पुगेको उनी गर्वसाथ सुनाउँछन्। उनका दुई छोरा छन्। नाउ काम गर्ने उनीहरू चौथो पुस्ता हुन्। जेठाले बिहारमै दस कक्षा र कान्छाले प्रवीणता तहसम्म पढेका छन्। उनीहरूले रमाकान्त बस्ने सडकको नजिकै आफ्नै पसल खोलेका छन्।
'ठूलो छोराले केही समय एक अमेरिकनको सहयोगमा दुबईको होटलमा काम गर्ने अवसर पाएको थियो। पछि विदेशीको चहलपहल त्यहाँ घटेपछि नेपालै आएर काम गर्यो,' रमाकान्तले सुनाए।
हामीले रमाकान्तलाई छोराहरू जस्तै पसलमा काम गर्न मन छैन भनेर सोध्यौं।
उनले भने, 'यतिका वर्ष त गरिएन। अब के गर्नु? यही ठाउँमा मलाई ठीक छ।'
रमाकान्त यो ठाउँमा यसरी सडकमा बसेर नाउ काम गर्ने लगभग अन्तिम मान्छे हुन्। उनका सहकर्मीहरू कति काम छाडिसके, कतिको मृत्यु नै भइसक्यो।
लकडाउनअघिसम्म रामकान्तसँग राम असरे भन्ने एक जना साथी थिए। सँगसँगै काम गर्ने उनी कोरोना लकडाउन बेला आफ्नो घर भारत गएका थिए। दमका रोगी उनलाई कोरोना भयो। उनी उतै बिते।
छोराहरूले पनि आफ्नो पसल थापेकाले उनी भन्छन्, 'मपछि बस्ने मान्छे कोही छैनन्। यहाँ फाटफुटमा केही महत्व पनि छैन।'
रमाकान्तलाई बिहान आठ बजेदेखि बेलुकी सात बजेसम्म भेडासिंको महादेव मन्दिर पछाडिको भाग अर्थात् जनबहाल जाने पछाडिको ढोकानजिकै भेट्न सकिन्छ। उनलाई नभेटेका दिन फोन पनि गर्न सकिन्छ।
कपाल काट्ने मान्छे भनेर उनले आफूले काम गर्ने भित्तामा फोन नम्बर पनि छाडेका छन्।
त्यसरी नम्बर राख्नुको कारणबारे उनी भन्छन्, 'एकपटक म छोराको पसलमा गएको थिएँ। यता एक जना मान्छे मरेका रहेछन्। यताउता सोधपुछ गरेछन्। मेरो नम्बर पनि कसैसँग थिएन। अनि त्यसरी नै अरूले पनि मलाई खोज्लान् भनेर नम्बर लेखिराखेको हुँ।'
साठी वर्ष नेपालमा बसे पनि रमाकान्तको बिहारसँग नाता टुटेको छैन। त्यहाँ उनका बुहारीहरू, नातिनातिना छन्। केही रोपनी खेत छ। सानो घर छ। गाई पालेका छन्। वैशाखमा घर गएका थिए। दुई महिना बसेर छोरासँग बाइकमा यतै फर्किए। अब यसपटकको छठमा फेरि घर जाँदैछन्।
आफ्नो जायजेथा, परिवार उतै हुँदा पनि भारतभन्दा नेपालै प्यारो भएको रमाकान्त बताउँछन्।
'अब त म भारतका गल्लीहरू चिन्दिनँ। त्यहाँका मान्छे पनि चिन्दिनँ। यहाँका मान्छेलाई म चिन्छु, यहाँका मान्छेले पनि मलाई चिन्छन्,' उनले भने, 'यतिका जीवन यहीँ बितिसक्यो। म भारतको भन्दा बढी नेपाली भइसकेँ।'
सबै तस्बिर/भिडिओः सुसन चौधरी/सेतोपाटी