उद्योग विभागले नेपालमा मोटरसाइकल एसेम्बल उद्योग स्थापनाका लागि विभिन्न चार शर्तहरु पूरा हुनुपर्ने बताएको छ।
एक सूचना जारी गर्दै विभागले मोटरसाइकल उद्योगका लागि शर्त निर्धारण गरेको हो।
विभागका अनुसार पार्टपूर्जा आयात गरेर सवारी साधन बनाउने उद्योगले पहिलो वर्ष १० प्रतिशत आन्तरिक मूल्य अभिवृद्धि गर्नुपर्नेछ। पाँच वर्षमा मूल्य अभिवृद्धि ३० प्रतिशत पुर्याउनुपर्नेछ।
त्यस्तै उद्योग स्थापनाको पहिलो वर्ष ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनुपर्नेछ। पाँच वर्षभित्रमा दुईसय प्रत्यक्ष रोजगारी सिर्जना गर्नुपर्ने विभागले बताएको छ।
अर्को सर्त पाँच वर्षको अवधिमा त्यस्ता उद्योगले १० प्रतिशत स्वदेशी वस्तुको प्रयोग गर्नुपर्नेछ। विभागले एसेम्बल उद्योग वातावरणमैत्री र सुरक्षित हुनुपर्ने उल्लेख गरेको छ।
नेपालमा एसेम्बल गरिएका सवारी साधनको सुरक्षा परीक्षणलाई वातावरण विभाग, यातायात व्यवस्था विभाग र उद्योग विभाग तथा सम्बन्धित सरोकारवालाहरुको संयुक्त समितिले अनुगमन गर्ने उल्लेख छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दुई पांग्रे सवारी एसेम्बल गर्ने उद्योगले आयात गर्ने कच्चा पदार्थमा २५ प्रतिशत अन्तःशुल्क छुटलाई बढाएर ५० प्रतिशत पुर्याएको छ। जसले गर्दा एसेम्बल उद्योगहरुको आकर्षण बढेको छ।