फुटवेयर म्यानुफ्याम्चरर्स एशोसियसनले जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ। ‘फुटवेयर बिजनेश एक्सपो–२०२१’ नामाकरण गरेर एशोसियसनले कार्तिक २६ देखि मंसिर १३ सम्म मेला आयोजना गर्ने भएको हो ।
मेलामा ३० कम्पनीका १ सय बढी स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
उनका अनुसार मेलामा नयाँ तथा पूराना ब्राण्डका जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ।
दैनिक ७ हजार ५ सय जोर जुत्ता बिक्री हुने र मेला अवधि भरमा २ करोड बढीको कारोबार गर्ने लक्ष्य एशोसियसनको छ।
एशोसियसनले मेलाकै लागि भनेर ५० लाख बढी लगानी गर्ने जनाएको छ। भृकुटीमण्डपमा मेला आयोजना गर्न एशोसियसनले समाजकल्याण परिषदलाई दैनिक ६० हजार रुपैयाँ तिर्नेछ।
मेलामा स्टल राखेवापत कम्पनीहरुले छुट्टै शुल्क तिर्नु नपरेपनि खर्च भाग लगाएर ३० कम्पनीले व्यहोर्ने संयोजक उपाध्यायले जानकारी दिए। मेलामा ३ हजार ब्राण्डका जुत्ता चप्पल एउटै छानामुनि उपभोक्ताले रोजिरोजी पाउने उनको भनाई छ।
जुत्ता चप्पल उद्योगमा १८ अर्ब माथिको लगानी रहने जुत्ता मेलामा १० लाख बढीले मेलाको अवलोकन गर्ने दाबी आयोजकको छ।