पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ। दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो।
जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो। युवाको विदेश पलायनका कारण पनि आरन व्यवसायमा युवा पुस्ताको आकर्षण हुन सकेको छैन। अधिकांश कृषि औजार जिल्ला बाहिरबाट आर्यात हुन थालेसँग आरनबाट उत्पादित सामग्रीहरुको किनबेचमा समस्या भएको व्यवसायी खुमबहादुर विश्वकर्माले बताए।
पाल्पा बगनासकाली गाउँपालिका–६ टोक्सेका खुमबहादुर विश्वकर्माले १० वर्ष पहिला चिलादीमा आरन व्यवसाय सञ्चालन गरे। गाउँपालिकाभित्रका किसानलाई पायक पर्ने गरी खोलिएको आरनमा मागअनुसार कृषि औजार पुर्याउन समस्या थिएन । पछिल्ला वर्षमा व्यावसायिक उत्पादन गर्न थालेसँगै दक्ष कामदार, कोइला र बजारको समस्याले सताइरहेको विश्वकर्माले बताए। आरनमा हँसिया, कोदालो, फाली, ओदान, खुकुरी, लगायतका औजार उत्पादन हुँदै आएको थियो।
आरन व्यवसायमा कडा श्रम गर्नुपर्ने हुन्छ। त्यसैले युवा पुस्ताको आकर्षण हुन नसकेको व्यवसायी भोजबहादुर विश्वकर्माले बताए। युवाको आकर्षण बढाउन सरकारी अनुदान तथा प्रोत्साहनका कार्यक्रम आवश्यक छ। अनुदान प्राप्तिमा दलित समुदायका व्यवसायी भने वञ्चित छन् । दलित समुदायका परम्परागत सीपलाई आधुनिकीकरण गर्न सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउन आवश्यक रहेको विश्वकर्माले बताए।
मल्लकालीन समयमा विश्वकर्मा जाति कृषि उत्पादनका क्षेत्रमा प्रयोग हुने फलामका औजार तथा हातहतियारहरु उत्पादन गर्दै आएका थिए। यसले स्वदेशमा फलामको उचित रुपमा प्रयोग हुने र रकम विदेशीनबाट रोकिएको थियो । तर स्वदेशमा रहेका आरन व्यावसायिक बनाउन नसक्दा त्यस्ता सामग्री आयात गर्नुपर्ने बाध्यता छ।
बगनासकाली गाउँपालिकाले स्थानीय स्रोत साधनको प्रयोग गरी कृषि उत्पादन गर्ने रणनीति लिएको छ। यसले स्थानीय स्तरमा रहेका आरन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्नेछ। गाउँपालिकाले परम्परागत रुपमा सञ्चालित आरनलाई व्यवस्थित गर्न सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए।
परनिर्भरता हटाउन आलुको पकेट क्षेत्र विस्तार
पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीलाई आलुको पकेट क्षेत्र विस्तार गर्न लालिएको छ। पहाडी जिल्ला पाल्पालाई आलुमा आत्मनिर्भर बनाउन आलु पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको हो। तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) को सहयोगमा उन्नत जातको आलुको बीउ वितरण गरिएको हो।
कार्डिनल उन्नत जातको ११ हजार ४५० किलोग्राम, खुमल रातो २ हजार ५० किलोग्राम, जनक देव ३०० किलोग्राम वितरण गरिएको रेडाका कार्यक्रारी निर्देशक लीलाबहादुर कार्कीले बताए।
आलु उन्नत कृषि समूहका झण्डै दुई सय घरपरिवारले व्यावसायिक रुपमा आलु खेती गर्ने जनाइएको छ। प्रत्येक समूहका सदस्यले न्यूनतम एक सय किलोग्राम आलु खेती गर्नुपर्ने निर्देशक कार्कीले बताए। प्रति एक रोपनी जग्गामा आलु खेती गर्नुपर्नेछ। उपर्युक्त हावापानी रहेकाले आलु पकेट क्षेत्र विस्तार गर्न थालिएको तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए।
सिँचाइको सहज सुविधा भएकाले यस क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गरी आत्मनिर्भर बनाउन खोजिएको हो। तानसेन नगरपालिकाले बेरोजगार तथा विदेश फर्केका युवा लक्षित गरी उत्पादनमूलक कार्यमार्फत आत्मनिर्भर बनाउन थालिएको नगरप्रमुख शाहीले बताए।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले अर्गेलीलाई आलु पकेट क्षेत्रका रूपमा विकास गरी कृषकहरूलाई आयआर्जनको माध्यमबाट स्वरोजगार बनाउने योजनाका साथ आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताए। वडाध्यक्ष कमल रानाले आलु संरक्षण गरेर राख्नका लागि कोल्ड स्टोरको निर्माण गरिने योजना रहेको बताए।
अर्गेलीमा सिँचाइका लागि प्रशस्त पानी रहेकाले आलुको उत्पादनको सम्भावना रहेको उनले बताए। तानसेन नगरपालिकाले गरिब तथा बेरोजगार युवाहरुको आर्थिक हैसियतमा सुधार ल्याउन व्यावसायिक रुपमा पशुपालन तथा कृषि क्षेत्र कार्यक्रम ल्याएको छ । महिलाहरु समूह निर्माण गरी बाख्रा तथा घाँस खेतीप्रति आकर्षित छन्।
जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिको आलुमा परनिर्भरता हटाउन बीउ किसानलाई अनुदानमा वितरण गरेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले समेत आलु खेतीका निम्ति समूहमार्फत काम गरिरहेको जनाएको छ। जिल्लाका अधिकांश स्थानीय तहमार्फत आलुखेतीलाई प्रोत्साहन गरी आलुमा आत्मनिर्भर बन्न अनुदानमा वितरण गरिएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।