अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ को मंगलबार टेस्ट राइड गरेका छन्।
उनीहरूले अर्थ मन्त्रालय परिसरमै केही समय मोटरसाइकल हाँकेर त्यसको टेस्ट राइड गरेका हुन्।
अर्थसचिव मरासिनीले मंगलबार राति ८ बजेर ३४ मिनेटमा आफ्नो ट्वीटरमा लेखेका छन्, 'नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीको गज्जबको टेस्ट राइड गरियो। यस्तो वातावरणमैत्री सिर्जनाका लागि अशिम पाण्डे र उनको टिमलाई बधाई। यसका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुनै सक्दैनथ्यो, किनभने अहिले हाम्रो देश हरित विकासमा प्रतिबद्ध छ। हामी यस्ता घरेलु उद्यमलाई प्रबर्द्धन गर्नेछौं।'
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीसँग यसबारे सोध्दा उनले 'यात्री कम्पनीको टोली आएर अर्थमन्त्रीसहित मन्त्रालयका पदाधिकारीहरूलाई आफ्नो विद्युतीय मोटरसाइकलबारे जानकारी गराएको' बताए।
अर्थसचिवको ट्वीटमा अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय वातावरण सम्मेनलन (कोप-२६) को ट्वीटर ह्यान्डललाई मेन्सनसमेत गरिएको छ। उनले टेस्ट राइड गर्ने क्रममा खिचिएका चारवटा तस्बिर सेयर पनि गरेका छन्।
चार जना इन्जिनियरसहित सात जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियो स्थापना गरेर यो विद्युतीय मोटरसाइकल निर्माण गरेको थियो। यसको ब्रान्ड पनि 'यात्री' नै हो। कम्पनीले करिब दुई वर्षअघि यो मोटरसाइकल सार्वजनिक गरेको थियो।
कम्पनीका संस्थापक अशिम पाण्डेले मोटरसाइकल सार्वजनिक गर्ने क्रममा यसका सम्पूर्ण स्पेयरपार्ट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँगको सहकार्यमा निर्माण गरिएको बताएका थिए।
‘हामीले सबै काम आफै गर्यौं, कतिपय पार्ट्स बनाउन नेपालमा करोडौं लाग्ने प्लान्ट बनाउनुपर्ने भएकाले यहाँ डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौं,’ उनले भनेका थिए।
साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यो मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीका लागि तयार पारिएको पाण्डेको भनाइ छ। तीस किलोवाट ब्याट्री क्षमताको यो मोटरसाइकल एकचोटि चार्ज गरेपछि २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दाबी छ।
बाइकमा ४० हर्सपावरको शक्ति छ। बाइक निर्माणका लागि कम्पनीले सन् २०१७ देखि अनुसन्धान सुरू गरिसकेको थियो भने २०१८ मा नेपालका विभिन्न ठाउँ गएर सवारी साधन र सडकबारे अध्ययन गरेको थियो।
यसमा अरू मोटरसाइकलजस्तो मेटल नभई कार्बनफाइबर प्रयोग गरिएकाले आकर्षक, हलुका र सुरक्षित रहेको कम्पनीको दाबी छ।
अर्थसचिव मरासिनीकै ट्वीटमा वातावरणविद् भूषण तुलाधरले प्रतिक्रिया दिएका छन्।
उनी लेख्छन्, 'हाम्रा अर्थमन्त्री र अर्थसचिवलाई यात्रीको विद्युतीय मोटरसाइकल टेस्ट राइड गरेको देख्दा खुसी लाग्यो। अर्थ मन्त्रालयले यस वर्षको बजेटमा उल्लेख भएअनुसार पेट्रोलबाट चल्ने मोटरसाइकलको सट्टा विद्युतीय मोटरसाइकलको स्थानीय उत्पादनलाई सहयोग गर्नेछ भन्ने आशा छ। यात्री विश्वव्यापी समाचार बनेको छ, सरकारको सहयोग प्राप्त भयो भने उनीहरू अझै अगाडि बढ्न सक्छन्।'