हेली एभरेष्ट र कपडा उत्पादन गर्ने कम्पनी केटिएम सिटीबीच ‘क्लोदिङ पार्टनर’ का लागि सम्झौता भएको छ।
बिहिबार एक कार्यक्रमकाबीच हेली एभरेष्टका एमडी फुर्वा शेर्पा र केटीएम सिटीका सिइओ निमा शेर्पाबीच सम्झौता भएको हो।
नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ यो सम्झौता गरिएको एमडी शेर्पाले बताए।
‘हामीले गर्वका साथ आफ्नै माटोमा उत्पादन भएका सामग्री प्रयोग गर्नुपर्छ। यसले हाम्रो रकम विदेशिदैन र उत्पादन गर्नेहरुलाई पनि प्रोत्साहन हुन्छ,’ कार्यक्रममा बोल्दै शेर्पाले भने।
केटिएम सिटीका ज्याकेट, टिसर्ट जस्ता उत्पादनहरु अब हेली एभरेष्टका सबै कर्मचारीहरुले लगाउने छन्। यसबाट सबैलाई नेपाली कपडा प्रयोग गर्न थप प्रोत्साहन हुने विश्वास कम्पनीको छ।
दुई कम्पनीको सहमतीनुसार हेलीको बोर्डिङ पासमा पनि केटिएम सिटीको लोगो राखिएको छ। प्यासेन्जरले पाउने तर्फको भागमा लोगो राखिएकाले बजार विस्तारका लागि सहयोग पुग्ने उनको विश्वास छ।
भविष्यमा पनि यसकिसिमका अन्य सहकार्यहरु अगाडि बढाइने शेर्पाले बताए।