पूर्वपश्चिम राजमार्गको किनारमा रहेको र घना जंगलले वरिपरिबाट घेरिएको बजार हो मोरङको बेलबारी।
राजमार्गमा ओहोरदोहोर गर्नेहरू केहीबेर रोकिएर खाजा खाने यो ठाउँले 'सेकुवा सेन्टर' को पनि पहिचान बनाएको थियो।
यही सानो बजारमा एउटा ठूलो सपना फक्राउँदै छन् ३९ वर्षीय विजय सुवेदी।
केही दिनअघि राजमार्गबाट करिब तीन सय मिटर दक्षिणमा बसेर उनले आफ्नो सपना सुनाए- यहाँ ठूला होटलहरू खुल्नेछन्। यहीँबाट पूर्वका सबै पर्यटकीय गन्तव्यसम्म पर्यटक ल्याउने–लैजाने सेवा सुरू हुनेछ।
'विदेशी हुन् वा स्वदेशी, तिनले यहाँ आउँदा-जाँदा दुई रात मात्रै बसिदिए भने हामीलाई भ्याइनभ्याइ हुनेछ,' उनले भने।
सुवेदीले देखेको यो सपना स्वैरकल्पना होइन।
यसलाई पूरा गर्न भनेरै उनी काठमाडौंबाट गाउँ फर्केका हुन्। यो सपनाका लागि अहिलेसम्म उनले चानचुन १४ करोड रूपैयाँ लगानी गरिसकेका छन्।
दुई वर्षअघिसम्म काठमाडौंको चकाचौधभित्र 'करिअर' को शिखरतिरै हराइरहेका थिए उनी। कलेजहरूमा होटल म्यानेजमेन्ट पढाउँथे। भ्याइनभ्याइ काम थियो। तालिमका लागि उनलाई बोलाउनेको लर्को हुन्थ्यो।
सुवेदीलाई मासिक केही लाख आम्दानीको चिन्ता थिएन।
उनले बेलबारीकै स्कुलमा पढेका हुन्। त्यसपछि पोखरामा होटल म्यानेजमेन्ट पढे। पोखरा र काठमाडौंमा लामो प्राध्यापन र तालिमे जिन्दगीबाट बाहिर निस्कने बाटो खोज्दै थिए।
पोखरा ग्राण्डमा सात वर्ष र काठमाडौंमा दस वर्ष पढाएपछि होटल म्यानेजमेन्टका स्नात्तकोत्तर सुवेदी कान्तिपुर इन्टरनेसनल कलेजमा आवद्ध भए। त्यहाँ उनी आफ्नो विषयको विभागीय प्रमुख बनिसकेका थिए।
त्यही बेला उनलाई लाग्यो- यत्तिको दौडधुप र लगानी मैले कसका लागि गरिरहेको छु?
हराइरहेको यात्रीले अचानक बाटो भेटेझैं उनको मनमा अर्को सवाल आयो- यही दौडधुप र लगानी आफ्नै घरगाउँमा किन नगर्ने?
'घर छाडेको लामो समय भइसकेको थियो। मलाई यो प्रश्नले भने हरदम चिमोट्न थाल्यो,' सुवेदीले सुनाए 'पहिल्यैदेखि मसँग पर्यटन क्षेत्रमा केही गर्ने एउटा सपना थियो।'
दुई वर्षअघि उनी करिब अढाइ लाखको तलब र अन्य सुविधा छाडेर काठमाडौंबाट बेलबारी फर्किए।
उनले देखेको त्यही सपनाको उपज हो, मोरङ बेलबारीको 'ड्रिमल्यान्ड पार्क।'
१४ करोड रूपैयाँ लगानी गरेर उनले बेलबारीमा उक्त पार्क बनाएका हुन्। यहाँ आधुनिक होटलमा जस्तै सुविधासम्पन्न आवासदेखि केटाकेटी खेल्ने ठाउँ, व्यायामशाला र ध्यान केन्द्रसम्म अटाएको छ।
सुवेदी यसलाई सपनाको जग मात्रै भएको बताउँछन्। यो सपना उनी एक्लैले गरेर मात्र पनि पूरा हुने छैन।
'अहिले यहाँ पर्यटनको पूर्वाधार तयार पार्ने काममा लागेको छु। यहाँका अरू व्यवसायीलाई पनि त्यसका लागि तयार पार्ने र पर्यटकका लागि आवास क्षेत्र बनाउने मेरो लक्ष्य हो। त्यसैले समय लाग्छ तर असम्भव छैन,' उनले भने।
लगानी आजैभोलि उठाउने ध्याउन्नभन्दा धेरै दीर्घ सोच राखेर काम गरिरहेको छु भन्ने उनको मनमा छ।
'मेरो सपना अहिल्यै पैसा कमाइहाल्ने छैन,' उनले भने, 'मेरा पितापुर्खाले राखिदिएको जमिन मसँग थियो। मैले त्यही जमिन उपयोग गरेर यो पार्क खोलेको हुँ।'
बैंकबाट ऋण लिएर सानो बजार भएको गाउँमा महँगो पार्क खोल्नुको उनको लक्ष्य एउटै छ- आफू जन्मेको गाउँलाई भविष्यमा पर्यटन केन्द्र बनाउने।
'त्यसले मलाई अहिलेको लगानी फिर्ता त दिनेछ नै। त्योभन्दा बढी आत्मसन्तुष्टि दिनेछ,' उनले भने।
आत्मसन्तुष्टिका लागि यति सानो ठाउँमा यति ठूलो लगानी?- पार्कमा घुम्न आउनेले उनलाई बारम्बार सोध्ने प्रश्न हो यो।
उनको उत्तर एउटै हुन्छ- यो मेरो सपना हो। यहाँ मैले लगानी खन्याउनुको कारण अहिले कमाउन होइन। भोलि कमाउन हो। पर्यटन गतिविधि बढ्दै जाँदा विस्तारै त्यसले मलाई लगानी फिर्ता दिलाउन थाल्नेछ।
पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा फैलिएको छ बेलबारी। मोरङको पुरानो यो गाउँले बजार भर्खरै फराकिलो बन्दैछ। यही ठाउँमा आकर्षक मनोरन्जन पार्क खुलेसँगै बेलबारीमा पर्यटन गतिविधि बढ्दै गएको अनुभव स्थानीयबासीलाई छ।
'यहाँ पार्क खुलेपछि पार्क घुम्न आउनेको संख्या बढेको छ,' बेलबारीकै स्थानीय होटल व्यवसायी किरण गुरुङले भने, 'उनीहरूले यहाँको वातावरण गुलजार पारेका छन्। अहिले यो ठाउँका मान्छेलाई तत्कालै मन बहलाउने ठाउँ पनि पार्क बनेको छ।'
गुरुङका अनुसार साना लगानीका धेरै होटल भएको ठाउँमा ठूलो लगानीको पार्क थपिँदा अन्य होटलको आर्थिक कारोबार पनि ह्वात्तै बढेको छ। त्यहाँ गएर घुम्ने, रमाइलो गर्ने, सुटिङ गर्नेहरू खानका लागि ती होटलतिर आउन थालेका छन्।
'पार्कका सञ्चालकले हामीलाई विभिन्न सेमिनारहरू गरेर तालिम पनि दिनुभएको छ,' गुरुङले सुवेदीबारे भने।
सुवेदीले सञ्चालन गरेको पार्कमा दुई सयभन्दा बढी रमाइलो गर्ने 'स्पट' छन्।
आधुनिक र सुविधासम्पन्न होटलसरहका दस वटा कोठा, चिल्ड्रेन पार्क, ध्यान केन्द्र, स्विमिङ पुल, व्यायामशाला, अलग–अलग तीन वटा रेस्टुरेन्ट, फनफेस्टा आयोजना गर्ने खुला ठाउँ र फोटो-भिडिओ सुटिङका लागि ठाउँ छ।
'यहीँभित्रै अस्पताल र होटल म्यानेजमेन्ट स्कुल पनि छिट्टै सञ्चालन गर्ने तयारी छ सुवेदीको, भावी योजना सुनाउँदै भने, 'मेरो बैंकको ऋण र ब्याज बढ्ने न हो। त्यो विस्तारै यहाँबाटै फिर्ता भइहाल्छ।'
सुन्दै आत्मविश्वासी लाग्ने सुवेदीका अनुसार एकैपटक ठूलो लगानीमा ठूलो संरचना बनाउने सुन्दा स्थानीयबासी त आत्तिएकै थिए। तर यो योजना यहाँ थाल्नुअघि उनीहरूले महिनौं लामो अध्ययन गरेका थिए। एउटा टिम नै परिचालित भएर बेलबारी र आसपासका क्षेत्रमा अध्ययन गरेको उनले बताए।
यहाँ दैनिक कति मान्छे आउन सक्छन्, तिनले मदिरा कति पिउँछन्, अन्य खाद्यवस्तु कति खपत हुन्छ, यातायातका साधन कति उपयोग हुन्छन्, सबै तथ्यांक तयार पारेपछि बल्ल योजना थालेका हुन् उनीहरूले। पर्याप्त अध्ययनपछि थालेको योजना भएकाले यसबाट पछि हट्ने बाध्यता नआउने कुरामा उनी ढुक्क देखिन्छन्।
'पितापुर्खाको नासो जमिन मैले अनाहकमा उडाउन यो लगानी गरेको होइन,' उनी भन्छन्, 'विज्ञटोलीबाट अध्ययन गरेपछि सम्भावना देखेरै सुरू गरेको हो।'
पार्क खोल्नुअघि यहीँका मान्छेको पर्यटन संस्कारमा थोरै भए पनि परिवर्तन ल्याउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई। पार्क स्थापनाको दुई वर्षमा झनै आशावादी बनेका छन्।
अहिले स्थानीयबासी पनि परिवार र बच्चा लिएर पार्कमा दुई-चार घन्टा बिताउँछन्। उनीहरूले छिमेकीलाई, छिमेकीले आफन्तलाई, आफन्तले अरूलाई सुनाउँछन्। त्यही चक्रले लकडाउनअघिसम्म दैनिक पाँच सय मान्छे यहाँ घुम्न आउँथे। लकडाउनले घटेको क्रम फेरि पुरानो लयमा फर्किँदैछ।
विदेशबाट कालिगढ ल्याएर करोडौं लगानीमा निर्माण गरेको ड्रिमल्यान्ड सुरू हुनासाथ कोरोना कहरले लकडाउन सुरू भएको थियो।
पहिला ६० जना स्थानीय युवालाई रोजगारी दिएको पार्कले लकडाउनपछि ३५ जनालाई काम दिइरहेको छ। तालिम दिएर आफ्नै गाउँका युवालाई सुवेदीले काममा राखेका हुन्।
लकडाउन सकिएर जनजीवन सामान्य हुँदै गएपछि ड्रिमल्यान्ड पार्क घुम्न आउने बढ्न थालेका छन्।
नयाँ वर्षको समयमा एकै दिन दस हजार मानिस आएपछि सुवेदी दंग थिए। उनी भन्छन्, 'सपना देख्नेहरूले प्रतिफलका लागि हतारिन नहुने रहेछ। विस्तारै नामसँगै दाम पनि आउने रहेछ।'