पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनका लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। अन्तर्राष्ट्रिय मार्गनिर्देशन बनाउने गरी यही जुनमा उक्त सम्मेलन हुन लागेको हो।
सो कार्यक्रममा हिमालय क्षेत्रमा काम गरेको विभिन्न वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टर लगायतको सहभागिता रहने छ।
यो सबै कामको मोडालिटी तय गर्नका लागि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र स्पेनिस कम्पनी द एभरेस्ट प्रोजेक्टका डाइरेक्टर फेडरिक काउफमेनले हस्ताक्षर गरेका छन्।
सम्मेलनमा नेपालका हिमालहरुमा यसअघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसफाई सम्बन्धी तथ्याङ्कको अध्ययन तथा विश्लेषण गरिनेछ। यससँगै विश्वका अन्य देशका पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहोरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको अध्ययन गरी विश्वभरी नै पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हुने फोहर व्यवस्थापन तथा सरसफाईको मापदण्ड बनाइने बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले बताए।
पञ्जावमा नेपालको प्रर्वद्धन गरिने
यसैबीच नेपाल पर्यटन बोर्डले भारतको पञ्जावमा पर्यटन प्रर्वद्धन गर्नका लागि नेपालमा रहेको शिख समुदायसँग छलफल गरेको छ।
बोर्डले नेपालमा पहिलोपटक बस, ट्रक भित्र्याएका पञ्जावका प्रितमसिंह सहित यहाँ रहेका शिख समुदायका अगुवाहरुसँग नेपालको प्रर्वद्धनका लागि छलफल गरेको बोर्डका सिइओ रेग्मीले जानकारी दिए।
त्यसका लागि समुदायसँगको सहकार्यमा नेपालमा रहेका गुरुद्वार हरुको समेत अध्ययन गरी नेपाल र पञ्जावबीच पर्यटन प्रर्वद्धनको कार्यक्रम तय गरिने उनले बताए।
नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट आउँछन्। त्यसमा पनि औद्योगिक विकासमा अघि बढेको पञ्जावमा नेपालको प्रर्वद्धन गर्न सकिएमा उक्त क्षेत्रबाट थप पर्यटक ल्याउन सकिने बोर्डको अनुमान छ।