नेपाल पर्वतरोहण संघ कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदुरलाई रहत दिने भएको छ ।
संघका अध्यक्ष सन्तवीर लामाकाअनुसार संघमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावितलाई राहत दिन लागिएको हो। राहतका लागि संघलाई जापानको निप्पोन फाउण्डेसनले सहयोग गरेको छ।
पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने अध्यक्ष लामाले बताए। ‘निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर (झण्डै दुई करोड ५० लाख) दिने सहमति भएको छ। सङ्घमा ११ हजार मजदुर आवद्ध छन्’ अध्यक्ष लामा भन्छन्, ‘जसमध्य छनोट गरी तीन हजारलाई राहत दिइने छ।’
मजदुरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने छ।
त्यस्तै सङ्घले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरिने छ। त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डर समेत दिइने जनाइएको छ।
कार्यक्रममा बोल्दै सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेले पर्वतारोहण संघले सुरु गर्न लागेको कार्यक्रमको प्रशंसा गरे। उनले विदेशी पर्यटकले धानेको पर्यटन उद्योग ठप्प रहेको अवस्थामा पर्यटन क्षेत्रको विकासका लागि सरकारले गम्भीर ध्यान दिएको बताए।