पछिल्लो समय नेपाली ढाका फेसनको रूपमा देखिएको छ। विगतका दिनमा जाति विशेषमा मात्रै प्रयोग हुने ढाका अहिले औपचारिक कार्यदेखि शुभकार्यसम्ममा प्रयोग हुँदै आएको छ।
तर हामीले प्रयोग गरेका ढाका नेपाली उत्पादन हुन् वा आयातित? आयातित ढाकाले नेपाली ढाका नै ओझेलमा परेको व्यवसायीहरू बताउँछन्।
नेपाली ढाकाको प्रवर्द्धन गर्न सरकारले के योजना बनाएको छ?
नेपाली ढाका प्रवर्द्धन गर्न दीर्घकालीन योजना बनाउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दिनेश सागर भुषालले जानकारी दिए।
‘हाम्रो ढाकाको बजारीकरण राम्रो छैन,’ उनले भने, ‘हामीले त्यसमा दीर्घकालीन योजना बनाउन लागेका छौं।’
ढाकाको प्रवर्द्धनका लागि राजधानी तोक्न लागिएको उनले बताए।
उनका अनुसार ढाका कपडाको उद्गम स्थल तेह्रथुम र पाल्पालाई राजधानी घोषणा गर्न लागिएको हो।
‘ढाकाको उद्गम स्थल तेह्रथुम र पाल्पालाई राजधानी घोषणा गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘मन्त्री ज्यु आएपछि स्वीकृत गराएर घोषणा गरिहाल्छौं।’
उनका अनुसार ढाकाको प्रवद्र्धनमा मन्त्रालय, स्थानीय निकाय र ढाका उद्यमीहरूको सहकार्य रहने छ।
तीन निकाय मिलेर ढाका प्रवद्र्धनका लागि पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने योजना बनाएको मन्त्रालयका उपसचिव भुषालले जानकारी दिए।
मन्त्रालयले अहिले ढाका उत्पादनका समस्याबारे क्षेत्रगत अध्ययन गरिरको छ।
‘हाम्रा केही साथीहरू भर्खरै पाल्पा पुगेर त्यहाँका समस्याबारे बुझेर आएका छन्। केही समयपछि तेह्रथुम जान्छौं,’ उनले भने, ‘अध्ययनका आधारमा स्थानीय निकाय र उद्यमीसँग छलफल गरेर योजना बनाउँछौं।’
सर्वप्रथम ढाकाको उत्पादन वृद्धि, बजारीकरण र प्याकेजिङमा काम गरिने छ।
‘हाते तानमा प्रविधि पुर्याएर उत्पादन बढाउँछौं। देश–विदेशमा चिनाउन ट्रेडमार्क लिन्छौं, त्यसको राम्रो प्याकेजिङ पनि गर्छौ,’ उनले भने।
उनका अनुसार सबैभन्दा ठूलो समस्या ढाका रंगीन बनाउन उद्यमीसँग मेसिन छैन। उक्त मेसिन किन्न सरकारले सहयोग गर्ने योजना बनाएको छ।
‘धरै समस्या छ। उच्च गुणस्तरको उत्पादन गर्न तानबाटै बुन्न पर्छ, मेसिनबाट राम्रो हुँदैन। तानमा पनि प्रविधि लगाउन सकिन्छ, हामी अध्ययन गर्दै छौं,’ उनले भने।
नेपाली ढाका कपडा विदेशमा चिनाउन सहयोग पुर्याउन भएकाले ट्रेडमार्क पनि लिइने योजना छ।
उनका अनुसार ढाका कपडाको अहिलेसम्म टेर्डमार्क छैन। यसमा कसैले पेटेन्ट पनि लिएका छैनन्। अब सरकारले नै ट्रेडमार्कका लागि सहयोग गरिदिने भएको छ।
‘सामूहिक रूपमा ट्रेडमार्क लिनेलाई पैसा लाग्दैन, सरकारले निशुल्क गर्छ,’ उनले भने।
ट्रेडमार्कले नेपाली उत्पादन सजिलै चिन्न सकिने हुँदा ग्राहकलाई सजिलो हुने भुषाल बताउँछन्।
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ।
ढाका कपडा परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन हो।
थोरै पूँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनसुकै स्थानमा पनि सजिलैसँग संचालन गर्न सकिन्छ।
ढाका उत्पादनमा सबैभन्दा बढी महिला सहभागी रहेको नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार देशभरि १५ देखि २० हजार हाते तान छन्। त्यसले ५० हजारलाई रोजगारी दिएको छ भने अधिकांशमा महिलाले स्वामित्व लिएका छन्।
‘व्यक्तिगत रूपमा धेरै छ। सामूहिक रूपमा उद्योग दर्ता गर्नेमा पनि महिलाकै स्वामित्व देखिन्छ,’ उनले भने।
अहिले झापा, मोरङ, तेह्रथुम र पाल्पामा बढी ढाका उत्पादन हुन्छ।
त्यसबाहेक, ताप्लेजुङ, पाँचथर, धनकुटा, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, बुटवल, काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, नुवाकोट, धादिङ, हेटौंडा, पोखरा, बाग्लुङ, म्याग्दी, सुर्खेत, सोलुखुम्बु, गुल्मीमा उत्पादन हुने गरेको छ।
ढाका नेपाली बजारमा खपत हुनुका साथै बाहिरी देशमा पनि निर्यात हुन्छ।
अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका नेपाली बस्ने देशहरूमा ढाकाका उत्पादन निर्यात हुने संघले जानकारी दिएको छ।