दाङ, तुलसीपुरकी सुजिता शाह स्थानीय कलेजमा पढ्थिन्। बिबिएस दोस्रो वर्ष पढ्दापढ्दै उनको रुकुम जिल्लामा बिहे भयो। उनका श्रीमान ठगेन्द्रचन्द्र चौरजहारी नगरपालिकाका इञ्जिनियर हुन्। बिहेपछि सुजिताको पढाइ छुट्यो। छोरी जन्मिइन्।
छोरी हुर्किँदै गएपछि सुजितालाई अलि फुर्सद हुन थाल्यो। आर्थिक अवस्था राम्रो भए पनि उनलाई आफैं केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो। केही नगरी समय खेर फाल्नु हुँदैन भनेर उनी छोरीलाई काखमा खेलाउँदै पोते बुन्न थालिन्।
सुजिता अहिले तुलसीपुरको नामीनगरस्थित माइती घरमै बस्छिन्। बुवा विदेशमा भएको र आमालाई साथी हुन्छ भनेर परिवारको सल्लाहमा माइत बसिरहेको उनले बताइन्।
साढे दुई वर्ष पुगेपछि उनले छोरीलाई शिशु कक्षा भर्ना गरिदिइन्। अनि त सुजिताका दिन झनै फुर्सदिला भए। तर उनी यसै बसिनन्। उनले जानेको सीपलाई नै व्यवसायमा परिणत गरिन्।
तीन महिना भयो उनले आफ्नो कलालाई आम्दानीको स्रोत बनाएको। २४ वर्षीया सुजिता अहिले सियोको मद्दतले विभिन्न डिजाइनका पोते बुन्छिन्।
'तीन महिनामा मैले झन्डै ४० हजार जतिको पोते बेचेँ,' सुजिताले खुसी हुँदै सुनाइन्, 'सामान बेच्न कहीँ जानुपर्दैन। ग्राहकहरू खोज्दै घरमै आउँछन्।'
सुजिता बिहे, पास्नी, व्रतबन्धका लागि आवश्यक सजावट सामग्री पनि बनाउँछिन्। आकर्षक कपडाले मोडेर/सजाएर छाता, सुपो (नाङ्लो), दक्षिणा राख्ने डाली, बेहुला-बेहुलीका लागि माला, टिकाटालो गर्दा कपडा नबिग्रियोस् भनेर अगाडि राख्ने तौलिया, गोडा धुँदा ताउली राख्ने स्ट्यान्डदेखि बेहुलीका लागि सलसम्म बनाएर बिक्री गर्छिन्।
उनले बनाएको सामानको माग दाङका छिमेकी जिल्ला र काठमाडौं उपत्यकाबाट पनि आउँछ। अहिले बिहेको सिजनमा झन् धेरै अर्डर आएको छ।
'केही दिनअगाडि मात्रै चार हजार मूल्य बढीका पोते काठमाडौं पठाएँ,' उनले भनिन्।
उनले फुर्सद उपयोग गर्दै सुरू गरेको भए पनि यो सीप आफ्नै परिवारबाट सिकेकी हुन्।
सुजिताकी आमा रिताका अनुसार उनकी आमा (सुजिताकी हजुरआमा) लाई हस्तकलामा रूचि थियो। ऊ जमानामै उनी विशेष प्रकारका कपाल बाट्ने डोरी, पोते बनाएर लगाउँथिन्।
'मुवा जहिल्यै आफैं बनाएका, सेतो माछाजस्तै टल्किने डोरीले कपाल बाट्नुहुन्थ्यो,' रिताले भनिन्, 'मुवा आफूले लगाउने लुगाको डिजाइन समेत आफैं गर्नुहुन्थ्यो। त्यसैअनुसार सिलाउन भन्नुहुन्थ्यो। उहाँका लुगा खास हुन्थे।'
हजुरआमाको सीप सुजिताले देख्दै हुर्किन्। सुजिताकी सानीआमा सानुलाई पनि हजुरआमाले यो कला सिकाएकी थिइन्।
सानुको घर तुलसीपुर-१० गोलौरामा हो। उनी कहिलेकाहीँ सुजिताहरूकहाँ आउँथिन्। उनले सुजिताले पोतेहरू बुनेको देखेपछि त्यो कला निखार्न सघाइन्।
'पोतेका डिजाइन र आकर्षक बनाउने सीप मलाई सानुमुवाले नै सिकाउनुभएको हो,' सुजिताले भनिन्।
अचेल त उनी बजारमा पाइनेभन्दा अलग र आकर्षक पोते कसरी डिजाइन गर्ने भन्नेमै तल्लीन हुन्छिन्। विभिन्न फूलदेखि सरसामानका आकृतिसम्म उनले पोतेमा उतार्दै आएकी छन्।
'कुनै चिजको डिजाइन राम्रो बन्न सक्छ भन्ने लागेपछि म त्यसैको आकारप्रकारको पोते सेट बनाउँछु,' उनले भनिन्, 'मैले बुनेका पोते धेरैले रूचाउन थाल्नुभएको छ।'
आफूले हातैले बुनेका पोते अरूले विशेष अवसरमा लगाएको देख्दा मन प्रफुल्ल हुने उनी बताउँछिन्। सुरूसुरूमा के सानोतिनो काम गरिरहेको भन्ने श्रीमान अहिले सुजिताका प्रसंशक भएका छन्। आफन्ती र चिनजानका साथीको तारिफले पनि सुजितालाई हौसला मिलिरहेको छ।
सुजिताले बुनेका पोते र बनाएका अन्य सामानको भाउ डिजाइनअनुसार फरक हुन्छ। पोते तीन सयदेखि तीन सय पचास रूपैयाँसम्म पाइन्छ। सजाइएको सुपोको एक हजार पाँच सय पर्छ।
यी सामान मानिसहरूले भाडामा पनि लैजाने गरेका छन्। विशेषगरी सुपो, डाली, बेहुलाले ओढ्ने छाता, दुलही प्रवेश गराउँदा ओढाउने सल जस्ता सामान। यिनको दैनिक भाडा पाँच सयदेखि पन्ध्र सयसम्म पर्छ।
केहीले महँगो भयो भने पनि यसपछाडिको महेनत र खर्च हेर्दा धेरै सस्तो भएको सुजिता बताउँछिन्। बेहुलाले ओढ्ने र फोटो सुटका लागि उनले विभिन्न आकार र डिजाइनका छाता बनाएकी छन्।
'यो ठूलो छाताका लागि कपडामा मात्रै ४/५ हजार खर्च भएको थियो,' सुजिताले भनिन्, 'पूरा बनाइसक्दा एउटै छाताको मूल्य करिब आठ हजार परेको छ।'
त्यस्तै पोतेको एउटा गुच्छा किन्दा ७० देखि ७५ रूपैयाँ पर्छ। यसनिम्ति प्लास्टिकको धागो र सियो पनि चाहियो। डिजाइन दिएर एउटा पोते बुन्न उनलाई दिनभरजसो लाग्छ।
'मेहनत र लगानीअनुसार मैले सामान निकै सस्तो दिएकी छु,' उनले भनिन्, 'यो काम मैले कमाउनभन्दा पनि रूचिले गरेकी हुँ। आफ्नो प्रतिभा देखाउन पनि पाएकी छु।'
सुजिताका अनुसार उनले सुरूमा यही कामबाट आर्जन गरूँला भन्ने सोचेकी पनि थिइनन्। समय बिताउन बुनेका पोतेका फोटा एकदिन फेसबुकमा राखेकी थिइन्। मानिसहरूले मनपराए र आफूलाई पनि बनाइदिन भने। एकपछि अर्को गर्दै अडर आउन थाल्यो। अनि सुजिताले यसैलाई व्यवसाय बनाएकी हुन्।
उनले तुलसीपुरकै एउटा निजी बैंकमा जागिरका लागि आवेदन दिएकी छन्। बैंकमा नाम निस्के पनि यो काम नछाड्ने उनी बताउँछिन्।
'साँझ-बिहान फुर्सदमा मेरो रूचिको काम अगाडि बढाउँदै लान्छु,' सुजिताले भनिन्, 'यो काम घरपरिवारसँग गफिँदै आनन्दले गर्न सकिन्छ। कमाइ पनि हुन्छ।'