एक दशक लामो समय होटल मजदूरको अनुभव संगालेका एक तन्नेरीले जन्मथलो माडीमा सुविधायुक्त फुडल्याण्ड खोलेका छन्। माडी नगरपालिका–६, बाँदरमुढेमा उनले ‘फुडल्याण्ड रेष्टुरेन्ट बार एण्ड पार्टी प्यालेस’ सञ्चालमा ल्याएका हुन्।
दुई सय जना क्षमताको फुडल्याण्ड बनाउन हालसम्म एक करोड भन्दा बढी खर्च भइसकेको सञ्चालक फिरोज शेखले बताए।
‘हामीले सफ्ट ओपनिङ गरिसक्यौं’, उनले सेतोपाटीसँग भने, ‘सबै संरचना पुरा हुँदा करिब दुई करोड रुपैयाँ खर्च लाग्नेछ।’
चार कठ्ठा ५ धुर जमिनमा प्रशस्त पार्किङ सुविधासहित खोलिएको फुडल्याण्डमा हाल परिवारका सदस्यसहित ६ जना रोजगार छन्। यहाँ बेलाबेलामा लाइभ म्युजिक कार्यक्रम गरिनेछ भने पार्टी प्यालेसमा सबै किसिमका शुभकार्य गर्न सकिनेछ।
आफ्नै जन्मथलोमा उद्यमशीलता विकास गर्ने उदेश्यले फुडल्याण्ड सञ्चालन गरिएको शेख बताउँछन्।
‘कति अर्काकोमा जागिर खानु’, उनले भने, ‘सिप सिकेर अनुभवी भएपछि हामी आफैं उद्यमी बन्नुपर्छ।’
विगतमा उनले भरतपुरका होटलमा किचन, बार र रुममा काम गरेका थिए।