अनलाइन सपिङ प्लेटफर्म सस्तो डिलले आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सस्तो डिलले नेपालको इकमर्स क्षेत्रमा आफ्नो दश वर्षको यात्रा मनाएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्रा उपस्थित थिए। उनले सस्तो डिल तथा यसका सम्पूर्ण टिमलाई दशौँ वर्ष पुरा गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका थिए।
यसैगरी कम्पनीका संस्थापक अमुन थापाले सस्तो डिलको दश वर्ष यात्राबारे विस्तृत जानकारी दिएका थिए।
‘सस्तो डिल सुरु गर्दा नेपालमा इकमर्स क्षेत्र फस्टाएको थिएन। त्यतिबेला यहाँ अनलाइन सपिङबारे धेरैलाई ज्ञान थिएन र हाम्रो मुख्य ध्यान मानिसलाई इकर्मसले दिने सहजता तथा फाइदा बुझाइ नेपालमा यो क्षेत्रलाई अगाडि बढाउनु थियो,’ अमुन भन्छन्, ‘अब भने हाम्रो लक्ष्य काठमाडौं बाहिरका ठाँउ जहाँ इकमर्सको निकै खाँचो छ, त्यहाँ यसको पहुँच पुर्याउने र देशबाहिर पनि सस्तो डिललाई चिनाउनु हो।’
उनका अनुसार नेपालमा इकमर्सलाई सरकारले प्राथमिकता दिइरहेको छ, तर यसका लागि चाहिने नीति भने अहिलेसम्म पारित भएको छैन।
इकर्मसलाई अगाडि बढाउन सबैमा इन्टरनेट तथा स्मार्ट उपकरणको पहुँच र दुर्गम क्षेत्रमा सरकारले पुर्याउनु पर्ने पूर्वाधार निकै जरुरी रहेको बताउँछन्।
यसैगरी नेपाली बजारमा इकर्मसको अवस्थामा पहिलेभन्दा निकै राम्रो रहेको सस्तो डिलका मार्केटिङ प्रबन्धक रितिक शाहीले बताए।
‘सुरुका दिनमा मानिसलाई कमर्सबारे ज्ञान दिन निकै गाह्रो भएको थियो, तर अहिले इन्टरनेटको प्रयोग बढेसँगै अनलाइन सपिङमा उपभोक्ताको संख्या बढिरहेको छ’ रितिक भन्छन्, ‘अनलाइन सेवा लिँदा कतिपय ग्राहकले तितो अनुभवपनि भोग्नु भएको छ। सस्तो डिलले भने यस्ता समस्यालाई कम गर्न ग्राहकसँग प्रतिक्रिया मागेर हाम्रो सेवालाई अझ गुणस्तरीय बनाउने तर्फ लागिरहेका छौँ।’
आफ्ना ग्राहकलाई यस्ता सेवा र सुविधा दिँदै अबको पाँच वर्षमा सस्तो डिललाई नेपालभित्र मात्र नभई संसारभर पुर्याउने योजना रहेको संस्थापक अमुनको भनाइ छ।
कार्यक्रममा सस्तो डिलले ‘वमन फर ह्युमन राइट्स’ संस्थासँगको सहकार्यमा एकल महिलालाई रोजगार अवसर दिइरहेको कुरापनि देखाइएको छ।
सो कार्यक्रमको मुख्य आकर्षण सस्तो डिलको ‘सुपर डे’ अभियानमा परेको थियो। यो अभियान डिसेम्बर १५ देखि सुरु भइरहेको छ, जहाँ कम्पनीले दश हजार उत्पादन र नेपालभर निशुल्क डेलिभरीको अफर ल्याएको छ।